१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौन्दर्यले भरिएको शैलुङमा साहित्य सम्मेलन



अ+ अ-

पर्दा हटाएर झ्याल खोल्दा बाहिरको चीसो फुत्त भित्र छिर्यो । बदलामा कोठामा बलेको बत्तिको एक मुठ्ठी उज्यालो बाहिर ओर्लियो ।

दोलखाको यो कालापानी शैलुङको आधार शिविर हो । मोबाइलको घडीमा बिहानको पाँच बजेर १२ मिनेट गएको रहेछ ।

‘सिरगबाहिर त जता छोयो त्यतै चीसो छ त ।’ म फुसफुसाउँछु । मुखबाट धुँवाजस्तै वाफ आउँछ ।

‘के एक्लै भुतभुताएको ?’ अर्को बेडमा टाउको छोपेर सुतिरहेका जयदेव भट्टराई सोध्छन् । उनी साहित्यिक अन्वेषक हुन् । पछिल्लो ४० वर्षदेखि अनवरत नेपाली साहित्यको श्रीवृद्धिमा तल्लिन छन् । लामो समय गोरखापत्रको शनिवारशीय र मधुपर्कको सम्पादनमा समय बिताएका उनी अहिले आरब्धका सम्पादक छन् ।

‘लौ हेर । यस्तो चीसोमा झ्याल खोलेको । लगाउनु । नत्र जमिन्छ ।’ उनले भने ।

‘अब जाने हो दाजु । उठनुस् । दार्ही काट्नुस् । म त तयार भइसकेँ ।’

यतिखेर हामी २९ सयको मिटरको उचाइमा छौ । हिजोको रात हामी यहाँ आएर बास बसेको । एक दर्जनभन्दा बढी होटल र रिसोर्टहरु रहेको कालापानीका चार वटा होटल हाम्रा साथीहरुले भरिएका छन् । गोरखापत्र संस्थानले पहिलो चोटी आयोजना गरेको गोरखापत्र साहित्य सम्मेलन २०८२ का लागि कालापानीमा गाँस र बासको भव्य व्यवस्था थियो ।

साँझ छिप्पिएर रात परुन्जेल हामी आगो तापेर बस्यौं । आलु र मासुहरु पोल्दै खाँयौ । चीसो सिरेटो नचलेको होइन । बेलाबेलामा शीतले भिजाउन खोजेको पनि हो । तर निरन्तर बलिरहेको आगो, तात्तातो मासु र आलुको अघि चीसो धेरै चलमलाउन सकेन । बरु पछि कोठमा छिरेपछि भने न्यानो हुन धेरै बेर लाग्यो ।

३१ सय ५० देखि ३२ सय मिटरको उचाइमा रहेको शैलुङ पुग्नुछ केहीबेरमा ।

प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ ।

तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुँदो रहेछ –सय थुम्का । धानको थुप्रोजस्ता थुम्काहरू छन् रे त्यहाँ । त्यो हेर्नु छ । ती सयथरि थुम्कामा चढेर हेर्नुछ सेताम्मे हिमालहरु । र बिर्सिनु छ दैनिकीका क्रममा भोगेका थकाइ र बोझहरुलाई ।

बिहानीको खाजा र कफी पिएर कालापानीभन्दा अलि माथि रहेको शैलुङको प्रवेशद्वारमा पुग्दा बिहानको सात बजिसकेको थियो । साथमा छन् कार्यक्रममा सहभागी ठूलै टोली । बिहानै कालापानी टोल विकास संस्थाले साहित्यकार तथा पत्रकारहरूलाई फूलको माला लगाइ दिएका थिए । पञ्चे बाजाको धुनसँगै बजार परिक्रमा गराउँदै शैलुङसम्म नै उनीहरु हामी सँगसँगै थिए ।

यहीँबाट सुरु भयो सिँडीयुक्त फराकिलो बाटो । यसलाई मिनी ग्रेटवाल भनिदो रहेछ । हिड्दा र यहाँबाट हेर्दा दुबैमा आनन्द आउने । अघिपछि ठुलो लस्कर । बाजागाजा र नाचगान । बिहानै हिड्नेहरुमा साहित्यकारहरु रञ्जना निरौलाको टोली अगाडी थियो । सायद उनीहरु त पुगिसके होलान् टुप्पैमा ।

मिनी ग्रेटवालमा मनमगन

शैलुङ गाउँपालिकाको अघिल्लो जनप्रतिनिधिले बनाएका रहेछन् यो सिँडीयुक्त बाटो । गज्जव बनेको छ । हिड्न मज्जा आउने । वरिपरिका अग्ला पहाड र सेता हिमालहरु हेर्दै हिड्नुको मजा नै बेग्लै । मिनी ग्रेटवाल भनिने सिँडीयुक्त बाटोको मध्यमा पुगेपछि खुशीको सीमा नै रहेन । यहाँबाट देखिदो रहेछ अग्ला होचा पहाडी मनमोहक थुम्काहरु । पर सेताम्मे हिमाल र अलि तल हामीले छाडेर आएका कालापानीका रंगीन होटल र बस्ती ।

रेडियो नाटकका सिद्धहस्त कलाकार मदनदाश श्रेष्ठ, कवि राधेश्याम लेकाली, लेखक साथी तुलसीहरि कोइराला, जयदेव दाजु र म केहीबेर फोटाहरु खिच्छौं । फोटो खिच्नु त बहाना हो । यहाँबाट धीत मरुन्जेल हेर्छु – श्वेत हिमाल र काला/ हरिया पडाडहरु । मानिसका इच्छाजस्तो लमतन्न फैलिएका नीला आकाश र त्यसमा बेलाबेलामा देखिने सेता बादलका फूलहरु ।

भीमसेनको तरवारमा दवेको शक्ति

मिनी ग्रेटवाल भनिने सिंडीयुक्त बाटो छाडेर अघि बढेपछि आउँछ महादेव गुफा । डाँडाको एउटा ओढारमा बसेका रहेछन् शैलुङेश्वर महादेव । महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यो विश्वासलाई हामीले किन तोड्नु ? मन्दिर नजिकै गोदावरी र धर्म नामका दुइटा गुफा पनि रहेछन् । गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्दो रहेछ । रहमाइलो त के भने त्यहाँ दूध कुण्ड पनि रहेछ ।

३१ सय ५० मिटरको उचाइमा रहेछ भीमसेनको तरवार । ढुंगामा तरवारको आकृति देखिन्छ । किम्वदन्तीमा भनेझैँ भीमसेनले नेपाल मण्डल प्रवेश गर्दा यहाँ तरवार बिसाएकै होलान त ? तर तागत र शक्तिको प्रतिक भीमसेनको तरवारमा पुग्दा हाम्रा शक्ति भने दबिइसकेका थिए । थाकेर लखनतरान भइसकेका थिए ।

शैलुङ डाँडाका आकर्षक ढुंगा र लुङ्दार

डाँडामा तीन वटा ठूला ढुङ्गा छन् । बाघ, गाई र गंगटो आकारका । हेर्दै मन प्रफुल्लित र आल्हादित हुने । भित्रै कताकताबाट शान्ति मिलेजस्तो अनुभूति । थकाइ त कता हो कता बिलाउँछ । त्यति मात्र होइन, बौद्ध मन्त्र लेखिएका झण्डा अर्थात् धज्र्यू र लुङदारले डाँडालाई रंगीन बनाएको छ ।

‘मलाई यी सार्है मन पर्छन् । एकताका त यसलाई घरको कौशीमा राख्नु पर्यो भनेर बौद्धमा गएर किनेरै ल्याएको थिएँ ।’ रंगीन लुङ्दार देखाउँदै मैले भने ।
‘मलाई पनि मन पर्छ दाइ ।’ श्रीबाबु कार्कीले भने । यिनी कविता र निवन्ध लेख्छन् । मलाई यिनको निबन्ध धेरै मन पर्छ । पछिल्लो समय निबन्धमा पढ्नै पर्ने नाम हो श्रीबाबु कार्की । हामीलाई खादा लगाइदिदै आउँछिन एक शेर्पिनी महिला । उनी चैत्यका गुरुकी श्रीमती रहिछिन । भन्छिन ‘गुरु काठमाडौं जानु भएको छ । मैले नै लगाई दिएँ । पछि उनी मेरो नजिकै आइन, ‘शैलुङको चैत्यमा बत्ती बाल्दा काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथमै बाले सरह पुण्य मिल्छ ।’

धर्तिको स्वर्ग शैलुङ

तन र मन दुबै ऊर्जाले भरिन्छ । ३१५० मिटर उचाई कटेपछिको आनन्द बर्णनातीत छ । डाँडामा नीलो आकाश, चम्किलो घाम र हिमाली सौन्दर्यको अभूतपूर्व मिठास भेटिन्छ । अझ सूर्योदय, सूर्यास्तमा कस्तो सुन्दर देखिदो हो ?

‘सुर्योदयमा त बिहान गज्जब नै देखियो नि ।’ निवन्धकार रञ्जना निरौलाले भनिन,‘ किलोका किलो सुन पगालेको जस्तो पँहेलोले पुरै लालिामा फैलिएको थियो ।’

शैलुङको मुख्य थुम्को चाँही दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्दोरहेछ । यहाँबाट देखिने पहाडका तरेली र हिमाली श्रृंखलाको के कुरा गर्नु । कति हुन् कति हिमाल । पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू। हेरिरहुँ जस्तो! क्यामेराले खिचिरहुँ जस्तो!

कुनै अग्ला त कुनै होचा । जुन थुम्कामा चढेर हेरे पनि देखिने सेताम्मे हिमाल र पहाडका लोभलाग्दा तरेलीहरु । समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको शैलुङ डाँडा हिउँदमा हिउँले सेताम्य बन्दोरहेछ । ३२ सय मिटरको उचाइमा एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्का भएकाले नै यसलाई शैलुङ भनिएको रहेछ ।

आँखै बिझाउने भ्यू टावर

यो भ्यू टावरको राजनीति के हो ? म बुझ्दिन । यो उचाइमा किन चाहियो टावर । यी सबै थुम्का आफैमा टावर हुन् । यहाँ कसले कसलाई छेक्छ र ?

आँखाले भ्याउन्जेल जताततै छन् मनमोहक दृश्यहरु । आँखा नचिम्लिएसम्म केहीले पनि छेक्दैन । यस्तो ठाउँमा ठडिएको छ फलामको बढेमानको भ्यु टावर । यो किन चाहियो होला ? शैलुङ आफैंमा प्राकृतिक भ्यू टावर हो । यहाँ बनेको फलामे संरचनाले आँखै बिझायो । त्यसोत पछिल्लो दश वर्षमा देशभर बने असंख्य भ्यू टावरहरु । अधिकांश ती उचाइमा नै बने । र धेरैलाई बिझाइरहे ।

जैविक विविधताको भण्डार

वनजंगल, जडीबुटी, जंगली जनाबर र चराचुरुङीको भण्डारै हो शैलुङ । दश वर्ग किलोमिटरमा फैलेको शैलुङमा एक दर्जन सामुदायिक वन छन् । त्यहाँ १ सय ८ भन्दा बढी किसिमका जडीबुटी पाइदो रहेछ । साथमा किसिम किसिमका जनावर र चराचुरुङ्गी । तर बिहान हिडदा हामीले एउटा पनि देखेनौ ।

आस्थाको पुञ्ज

किंवदन्ती अनुसार तत्कालीन बौद्ध गुरुले मुठीमुठी चामल राखेका थिए । त्यही मुठी बढेर थुम्का बनेको रे । डाँडामा चैत्य, गुरु पद्मसंभवका पाइला र शैलुङेश्वरको मन्दिर छ । त्यसैले हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल बनेको छ शैलुङ । जनै पूर्णिमा अघि बौद्धमार्गीको भीड लाग्छ भने बाला चर्तुदशीमा हिन्दूको । पितृको सम्झनामा बत्ती बालेर बौद्धमार्गी मन्त्र जप्छन् । हिन्दू सत्बीज छरेर पितृ तार्छन । त्यसैगरी कुशे औंशी, जनै पूर्णिमा र ल्होसारमा पनि यहाँ मेला यहाँ लाग्छ । सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको शैलुङ प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तीर्थ पनि हो ।

ऐतिहासिक गोरखापत्र साहित्य सम्मेलन

शैलुङको मुख्य चैत्यसँगै भव्य कार्यक्रमको आयोजना भयो ।

गोरखापत्र दैनिकका कामु प्रधान सम्पादक जुनारबाबु बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष धनबहादुर तामाङ, टोल विकास संस्थाका अध्यक्ष रुद्र थपलिया, समाजसेवी सोभित उप्रेती लगायतको उपस्थिति थियोे ।

कार्यक्रममा स्थानीय कवि, विद्यार्थीवर्ग तथा काठमाडौंबाट आएका कविहरूले आ–आफ्ना रचना वाचन गरी गौरीशंकर हिमाललाई टाढैबाट साक्षी राखेर मनोरमस्थल शैलुङलाई साहित्यमय बनाएका थिए।

रचना वाचन गर्ने कविहरूमा सुभाषचन्द्र पौडेल’भीमफेदीया’, नन्दु उप्रेती, रञ्जना निरौला, विमुन्स पौडेल, अञ्जना पौडेल, त्रिभुवनचन्द्र वाग्ले, लक्की चौधरी, राजु महत, तीर्थ अधिकारी, जानुका राई, अमरदीप सुनुवार तथा बालकृष्ण थपलिया लगायत रहेका थिए ।

गोरखापत्र संस्थानका महाप्रवन्धक लाल ऐरीले भने, ‘यो ऐतिहासिक सम्मेलन हो । हामीले अहिलेसम्म जे जति साहित्यिक कार्यक्रम गर्‍यौं मधुपर्कका नाममा गर्‍यौ । तर भाषा साहित्यको क्षेत्रमा गोरखापत्रको योगदान पनि कम छैन । त्यही भएर यसपाली यो साहित्य सम्मेलन गरेका हौँ ।’

गाउँपालिकामा भव्य स्वागत

भ्रमण टोलीलाई शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले गाउँपालिका प्राङ्गणमा भव्य स्वागत गर्नुभयो । उहाँले शैलुङको ऐतिहासिक,धार्मिक तथा पर्यटकीय महत्त्वबारे जानकारी पनि दिनुभयो । ‘तपाइहरुको भ्रमणले यस क्षेत्रको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो ।

बोल्न खप्पिस मेरा मित्र र मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले पनि प्वाक्क जवाफ फर्काइहाले, ‘साहित्यकारहरू काठमाडौंबाट रित्तै हात आए पनि यहाँबाट फर्किँदा मुटुभरि शैलुङको माटोको सुगन्ध, मीठो सम्झना र आँखाभरि सुन्दर दृश्यहरू बोकेर जानेछौँ ।’