काठमाडौं । नोभल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो । चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला समिाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो । त्यस्तै सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधी तथा आत्यावश्यक सामाग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले भारत सरकारले अत्यावस्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधि अभावको समस्या नहुने बताउनुभयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटो भन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय भएको समेत उहाँले बताउनुभयो ।
बैठकले स्वास्थ्य परिक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन समेत दिएको छ । त्यस्तै विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परिक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरुमा स्वास्थ्य सचेताना सम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ ।