ललितपुर । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो।
आजदेखि आइतबारसम्म हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म लाइन काटिने हुँदा उक्त फिडरअन्तर्गत फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा विद्युत् काटिनेछन्।
सो फिडरबाट वितरित लाइनमा बढी समस्या आएपछि प्राधिकरणले सुधारको काम अगाडि बढाएको हो।
विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
प्राधिकरणले पछिल्ला दिनमा राजधानीमा वितरण प्रणालीको सुधारलाई तीव्र पारेको छ।