८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको त्रास: विश्वभर खेलकुदका गतिविधि रोकिए



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको त्रासले विश्वभर खेलकुदका गतिविधि रोकिएका छन्। नेपाल सरकारले कोरोना भाइरसबाट सर्वसाधारणलाई सचेत रहन सुझाव दिएसँगै देशभर सञ्चालन हुन लागेका राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुन थालेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद प्रतियोगिता रोक्न सम्बन्धित सबै खेलकुद संघलाई निर्देशन दिएको छ। राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको सुरक्षालाई ध्यानमा राखी प्रतियोगिता रोक्न आयोजक संघसंस्थालाई निर्देशन दिएका छन्।

राखेपले सञ्चालनमा रहेका प्रतियोगिता तत्काल सक्न र बाँकी प्रतियोगिता अर्को सूचना नभएसम्म आयोजना नगर्न अनुरोध गरेको छ। कोरोनाका कारण चैत १ गतेदेखि सञ्चालन हुन लागेको नेपालको लोकप्रिय फेन्चाइज लिग क्रिकट एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित गरिएको छ। ईपीएल सञ्चालक आमिर अख्तरले पत्रकार सम्मेलन गरी प्रतियोगिताको अन्तिम तयारी भए पनि कोरोना भाइरसका कारण स्थगित गर्नुको विकल्प नभएको बताए। ‘लगानी र आर्थिक अवस्थाभन्दा पनि पहिलो सर्त स्वास्थ्य र सुरक्षा हो। हजारौंको जमघट र विदेशी खेलाडीको आगमनमा हुने ईपीएल गर्न अहिले गाह्रो छ।

सरकार, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), सहभागी टोली र प्रायोजकको सल्लाहमा ईपीएल स्थगित गरेका हौं। प्रतियोगिता अनुकूल समयमा सञ्चालन गर्नेछौं,’ आमिरले भने।कोरोना भाइरसकै कारण दशरथ रंगशालामा चैत १३ र १८ गतेका लागि तय भएको फिफा विश्वकपअन्तर्गतको छनोट खेल पनि सर्ने भएको छ। खेल सार्नका लागि अस्ट्रेलियाले एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिएको छ। अस्ट्रेलियन सरकारले आफ्ना नागरिकलाई देश नछाड्न निर्देशन दिएको र कोरोनाको जोखिमका कारण अस्ट्रेलियाले तत्काल नेपाल आउन नसक्ने जनाएको छ। अस्ट्रेलिया अहिले एएफसीको निर्णयको पर्खाइमा छ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपअन्तर्गत एसियाली देशको छनोट खेलमा नेपाल समूह ‘बी’ मा छ। यसअघि नेपालले चैत १३ गते चाइनिज ताइपेई र १८ गते अस्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भएको थियो। ताइपेईले भने खेल सार्ने विषयमा केही बताएको छैन। फिफा विश्वकपका विषयमा विश्व फुटबल महासंघ (फिफा) र एएफसीका पदाधिकारीबीच अहिले छलफल भइरहेको छ। नेपालले यसअघिका पाँच खेलमा चार हार र एक जित निकालेको थियो। नेपालले ताइपेईलाई २–० गोलले हराएको थियो।

कोरोनाका कारण अहिले विश्वभर अन्य अन्तर्राष्ट्रिय खेलकुद गतिविधि पनि बन्द भएका छन्। जापानमा यसै वर्ष आयोजना हुन लागेको ओलम्पिक खेलकुद सारिने विषयमा छलफल भइरहेको छ। युरोपियन लिग फुटबल र अन्य ठूला प्रतियोगिता दर्शकविनै बन्द स्टेडियममा सञ्चालन भएका छन्। अन्नपुर्णपोष्ट दैनिक