काठमाडौं । गएको भदौ २३ र २४ को जेनजी विद्रोहले निम्त्याएको कांग्रेसभित्रको राजनीतिक संकट अझै साम्य भएको छैन । जेनजी आन्दोलनको बलले ल्याएको परिवर्तनपश्चात कांग्रेसभित्र जसरी भए पनि सभापति देउवालाई विस्थापित गर्ने भनेर सुरु भएको खेलको गेम ओभर भएको छैन । यसमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा हात धोएरै लागेका छन् ।
महामन्त्री गगन थापाले त पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आन्दोलनकारीबाट कुटाई खाएर अस्पतालमा उपचाररत रहेका बेला नै अब पार्टी विशेष महाधिवेशनमा जाने घोषणा गरेका थिए । उनले जेनजी आन्दोलनपछि बनाएको पहिलो भिडियोमा नै यो माग गरेका छन् । यसमा उनले पार्टीको कुनै कुरा गरेका छैनन्, र नत आफ्ना पार्टी सभापति देउवा उपचारका लागि अस्पताल रहेका बेला स्वास्थ्य लाभको कामना नै गरेका छन् ।
नेपालको सबैभन्दा जेठो तथा राणा र राजासँग लढेर मुलुकमा प्रजातन्त्रका लागि लामो सयदेखि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसका सभापतिलाई यसरी घरमै कुटपिट गर्ने कामको विरोध पनि गरेका थिएनन् । उनी र अर्का महामन्त्री शर्माको यो कार्यको पार्टीभित्रैबाट पनि विरोध भएको थियो । उनीहरुमाथि पार्टी सभापति आन्दोलनकारीको कुटाईबाट घाइते भइ अस्पताल भर्ना भएका बेला विशेष महाधिवेशन गरेर सभापतिलाई हटाउने रणनीति बनाएर सार्वजनिक गरेको भनेर देउवा पक्षका नेताहरु रुष्ट भएका थिए ।
संस्थापन पक्ष समेतले नेतृत्व परिवर्तनको मुद्दालाई अनुमोदन गरेकै छ । स्वयं सभापति देउवाले पनि अब आफू पार्टी सभापतिको उम्मेदबार नबन्ने सार्वजनिक घोषणा नै गरेका छन् । तर पनि संस्थापन पक्ष भने पार्टीको विशेष महाधिवेशनको पक्षमा छैन । महामन्त्रीद्धयले भने विशेष महाधिवेशनको एजेण्डालाई जोडतोडका साथ सतहमा ल्याएर स्थापित गराउने प्रयत्न गरिरहेका छन् ।
तर पार्टीमा संस्थापन इतरको नेतृत्व गरिरहेका डा शेखर कोइरालाले भने विशेष महाधिवेशनको एजेण्डालाई अनुमोदन गरेको अवस्था छैन । उनी मौन त छैनन्, तर पनि विशेष महाधिवेशन गर्ने पक्षमा छैनन् । बरु चुनाव अघि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा भने उनी रहेका छन् ।
यसरी अहिले नेपाली कांग्रेसमा आफ्नो पार्टीको महाधिवेशन कहिले गर्ने भनेर आन्तरिक विवाद चर्किएको छ । देश चुनावमय भइसकेको छ, उता नेकपा एमालेले पार्टीको महाधिवेशन पनि आह्वान गरेको छ र चुनावमा नजानका लागि दबाबमूलक आन्दोलनको घोषणा पनि गरेको छ । तर यस्तो अवस्थामा कांग्रेस भने आन्तरिक विवादमा फसेको छ । कांग्रेसमा आसन्न फागुन २१ को निर्वाचन अघि कि निर्वाचन पछि पार्टीको महाधिवेशन गर्ने भन्ने विवाद झन् भन्दा झन् चर्किंदै गएको छ ।
सभापति देउवाले जेनजी आन्दोलनमा कुटाइ खाए, अस्पताल भर्ना भएरै हप्तौँ उपचार गर्नुपर्यो । त्यसपछि पनि उनी सामान्य रुपमा नै पार्टी बैठकमा उपस्थित भए र भदौको आन्दोलन समयको माग हो भन्दै सामान्य रुपमा लिए । अनि पार्टी नेतृत्व परिवर्तनको महामन्त्रीद्धयको चर्काे माग अनुसार कार्यबाहक सभापति पनि उपसभापति पूर्णबहादुर खड्कालाई दिए र उपचारका लागि सिंगापुर गए ।
कार्यबाहक सभापति खड्काको अध्यक्षमा केन्द्रीय समितिको बैठक कैयौँ पटक बस्यो पनि । सो बैठकले पनि न नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्यो र नत विशेष महाधिवेशनको महामन्त्रीको प्रस्तावमा कुनै निर्णय गर्न सक्यो । यस हिसाबले सधैँ सभापति देउवाकै विरोध गरिरहनेहरुले उनको अनुपस्थितिमा र पार्टीको कार्यबाहक नै दिएको अवस्थामा त पार्टीलाई निकास दिन सक्नुपथ्र्याे ।
कित पार्टीको कम्तीमा पनि वडा तथा पालिकास्तरको महाधिवेशनको समय तोकेर कार्यतालिका सार्वजनिक गरेको भए यी सबै प्रतिनिधि आफू चयन हुनका लागि गाउँ जान्थे, यहाँ काठमाडौँमा गुट गुटका भेला गर्दै हिँड्दैनथे । त्यसपछि पनि लम्ब्याएर पार्टीका विभिन्न चरणको प्रतिनिधि छनौट र महाधिवेशनको मिति चुनावपछि नै पर्ने गरी पारेको भए पनि हुन्थ्यो । त्यो रणनीति पनि कार्यबाहक सभापतिले गर्न सकेको देखिएन । उनले यता सभापति देउवाको र उता महामन्त्रीद्धय दुवै तर्फको जस लिने र सभापति देउवाकै थाप्लोमा हालिदिने रणनीति अपनाएको धेरैले बुझ्न थालेका छन् ।
अब पार्टीको नियमित महाधिवेशन गर्दा पनि हुने समय आएको छ । चुनाव अघि कि पछि भन्ने कुरा त पार्टीको आन्तरिक बैठकबाट पनि होला । यस बेला आएर अब विशेष महाधिवेशन सान्दर्भिक छैन । चौधौँ महाधिवेशनको समय सकिन लागेकाले अहिले आएर विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने होइन कि पार्टीको पनि ताजा जनादेशमा जाँदा राम्रो हुन्छ ।
महाधिवेशनको समयमै सहमति नहुँदा कांग्रेसको आन्तरिक विवाद थप जटिल बनेको छ । संस्थापन पक्ष २१ फागुनको निर्वाचनअघि महाधिवेशन गराउने पक्षमा छैन । इतर पक्ष भने जुनसुकै मूल्य चुकाएर भए पनि पुस मसान्तभित्र महाधिवेशन गराइछाड्ने ’मिसन’ मा लागेको छ ।
यसरी हेर्दा एकातर्फ देउवाले कार्यबाहक दिँदा पनि त्यो कार्यसमितिले विवाद समाधान गर्न नसकेर सभापति देउवाकै सहयोगको याचना गरेको छ भने अर्कातर्फ पार्टीकै तिनै मानिसहरुले देउवा पुन: सभापतिमा फर्कने भनेर प्रचार पनि गराइरहेका छन् । यो विवादकाबीचमा भोलिको कार्यसमितिको बैठकको अध्यक्षता देउवाले नै गर्नुपर्ने अवस्था आयो भने त्यो देउवाको इच्छाले नभएर पार्टीकै प्रेसरमा हो भनेर बुझ्दा हुने अवस्था देखिँदैछ ।
तर यदि यस्तो अवस्था आयो भने पार्टी फुटाएरै भए पनि विशेष महाधिवेशन गर्नुपर्नेमा गगन विश्वप्रकाश देखिएका छन् । पार्टीका एकजना केन्द्रीय नेताले भने– देउवाले सभापतिमा शेखरलाई सहयोग गर्ने संकेत दिएको थाहा पाएपछि गगन थापाको सभापति बन्ने आशा झन् घटेको छ । त्यसैले पनि अहिले जेनजी आन्दोलनले युवा नेतृत्व मागिरहेका बेला पार्टीको विशेष महाधिवेशन गरेरै अघि महामन्त्रीहरु लागेका छन् । यसो गर्दा पार्टी फुट्यो भने पनि त्यसको दोष संस्थापन पक्षलाई दिने उनीहरुको रणनीति छ ।










