२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिडेर चार घण्टा : गाडीमा दिनभर



अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्नुहुन्छ । “हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ”, पुनले भन्नुभयो, “घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर छिटो पुगिन्छ ।”

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर चार घण्टामै बेनी पुगिने पुनले बताउनुभयो । सर्वसाधारण चिमखोला–दर्मिजा–दग्नामको घोरेटो र दग्नामदेखि बेनी जोड्ने सडक प्रयोग गरेर आवतजावत गर्छन् । दुर्गम क्षेत्रमा पर्ने चिमखोला र कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएको नौ वर्ष भए पनि स्थानीयले सुविधा पाएका छैनन् । कच्ची सडक प्राविधिकरुपमा कमजोर, मर्मतको अभाव र पहिरोको समस्याका कारण उपयोगमा आउन नसकेको हो ।

विसं २०६७ मा बेगदेखि चिमखोला हुँदै कुइनेमङ्गलेको सिमानासम्म जोड्ने २८ किलोमिटर सडक निर्माण भएको थियो । सडकमा नियमित सवारी साधन सञ्चालन हुन सकेको छैन । चिमखोला र कुइनेमङ्गलेका बासिन्दा सदरमुकाम बेनी आउन जान भिरपहरा, जङ्गल र खोल्साखाल्सी भएको पैदलमार्गमा हिँड्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेका वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

“गाडी चल्ने सपना जस्तै भयो”, उहाँले भन्नुभयो, “ट्र्याक्टर चल्न पनि राम्रो मौसम कुर्नुपर्छ ।” गलेश्वरदेखि पिप्ले भगवती हुँदै बेगसम्म पुगेको सडक विस्तार गरेर चिमखोला पुर्याउन तत्कालीन गाविस, जिविस र स्थानीय बासिन्दा तथा विदेशमा रहेकाले रु ६० लाख लगानी गरेका थिए । हाल उक्त सडकमा हिउँदमा मात्र मुस्किलले ट्र्याक्टर चल्ने चिमखोलाका गम पुनले बताउनुभयो । सामान ढुवानी गर्न ट्याक्टर रिजर्भ गर्नुपर्छ । बेनीदेखि चिमखोला रिजर्भमा ट्याक्टरबाट ढुवानी गर्दा रु २० हजार भाडा लाग्ने व्यवसायी सञ्जय कुँवरले बताउनुभयो ।

ट्र्याक्टर चालक जगत दर्जीले तीन हजार मिटर उचाइमा हिउँ छिचोलेर चिमखोला पुग्ने र फर्किने सडक जोखिमपूर्ण भएको बताउनुभयो । “एक्लै जान सकिँदैन । दुई तीन वटा ट्र्याक्टरसँगै लैजान्छौँ”, उहाँले भन्नुभयो, “बाटोमा फस्यो भने अर्को ट्र्याक्टरले तानेर निकाल्छौँ ।”

बिरामी पर्दा र अन्य कामले सदरमुकाम जान आउनका लागि पैदलयात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको कुइनेमङ्गलेका शिक्षक देउमान घर्तीले बताउनुभयो । चिमखोला र कुइनेमङ्गलेमा ५०० भन्दा बढी घरधुरीको बसोबास छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पुरानो सडक असफल भएकाले दग्नाम–दर्मीजा–चिमखोला सडक निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिका र सडक डिभिजन कार्यालयले चिमखोलादेखि दर्मिजा नजिकैको भिरसम्म दुई किलोमिटर सडक खनिसकेका छन् । मौवाफाटदेखि दग्मामस्थित अजिङ्गर भिरसम्म पुगेको सडक विस्तार गर्न यो वर्ष रु दुई करोड ५० लाख विनियोजन भएको छ ।

सडक डिभिजनले विनियोजन गरेको एक करोड बजेटको ठेक्का लागिसकेको सांसद थममाया थापाले बाउनुभयो । गण्डकी प्रदेश सरकारले रु ७५ लाख, निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख र गाउँपालिकाले रु ३० लाख विनियोजन गरेका छन् । पाँच किलोमिटर समान्य बाटो खोलेपछि सडक जोडिने स्थानीयको भनाइ छ ।