२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा



अ+ अ-

बलेवा । समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो समयदेखि पानीको अभाव झेल्दै आएका छन् ।

हाल बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी जसोतसो चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका नारायणस्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी नारायणस्थानमा पानी पुर्याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिफटिङ प्रविधि भित्र्याइएको नारायणस्थानमा अब भने घरघरमै पानी आउने छ । घरघरमा पानी पु¥याउने अभियान अन्तिम चरणमा प्रवेश गरेकाले चैत्रभित्रै नारायणस्थानका घरघरमा सो पानी पुग्ने खोपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएको नारायणस्थानको गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताउनुभयो ।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकीतिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्याङ्कीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी बोक्ने छ । मुहान र पाइप लाइनको मध्यभागमा दुई मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पु¥याइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

यो योजना निर्माण गर्न झण्डै रु आठ करोडभन्दा धेरै खर्च भएको छ । शुरुआती लागत भने रु १० करोड माथिको थियो । रु छ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्ने गरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले बताउनुभयो ।

कूल लागतको ७० प्रतिशत नेपाल सरकार, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले बताउनुभयो । योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन बिछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेका संस्थाले जनाएको छ । विद्युत्को परीक्षण र प्रसारणको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ ।

“एक घर एक धारा चौबीसै घण्टा पानी आउँछ”, अध्यक्ष खत्रीले भन्नुभयो, “२० वर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।” यो योजना नारायणस्थानका नौवटै र पैयुँपाटाका वडा नं ८ र ९ मा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड आठ लिटर पानी तान्ने बताइएको छ । यसभन्दा पहिले धारापानीबाट दुई दशमलव पाँच र धापेखोलाको पानी तीन लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ ।

उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० भल्भ च्याम्बर निर्माण भएका छन् । नारायणस्थामा जनसङ्ख्या बढ्दै गएकाले पनि खानेपानीको माग धेरै छ । नगरपालिकाले यही कार्यकालभित्रै सबै घरमा खानेपानी पुर्याउने उद्घोष गरेअनुसारनै नारायणस्थानका उपभोक्ताले गर्नुपर्ने नगद योगदानमा सहभागिता जनाएको थियो ।