२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द



अ+ अ-

लहान । दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्यवृद्धि, पूँजीको समस्या र करलगायतका कारणले इँटा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई वर्षदेखि बन्द भएका सप्तरी इँटा व्यवसायी सङ्घले जनाएको छ ।

“अधिकांश इँटा उद्योगमा काम गर्ने मजदूर प्रायः भारतीय नागरिक थिए, तर बिस्तारै ती कामदार काम छाडेर घर गएपछि यतिबेला दक्ष कामदार चरम अभाव भएको छ”, अध्यक्ष दुर्गानन्द साहले भन्नुभयो, “इँटा बनाउनेदेखि पोल्नेसम्मका कामदार नपाइएपछि ती इँटा उद्योगले इँटा उत्पादन बन्द गरेका हुन् ।” यसका साथै इँटा पोल्न कोइलासमेत सहजरुपमा आपूर्ति नहुने गरेको र इँटा उद्योग सञ्चालनका लागि पूँजीसमेत थप्नुपर्ने अवस्थाका कारण ती इँटा उद्योग बन्द भएका उहाँको भनाइ छ ।

“इँटा उद्योगमा चाहिने कोइला भारतको विभिन्न नाकाबाट आउने गरेकामा सस्तो थियो, तर यस वर्ष भारतको सुनौली नाकाबाट मात्र कोइला निर्यात हुने गरेकाले तेस्रो मुलुकबाट कोइला ल्याउनुपर्ने स्थिति सिर्जना भएको छ”, अर्का इँटा व्यवसायी मो हफिजले भन्नुभयो, “एकातिर कामदारको समस्या छ, अर्कोतिर कोइला अमेरिका र इण्डोनेसियालगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्दा महँगोसँगै पनि समयमा नआउने अवस्था छ, जसका कारण उद्योग सञ्चालन गर्नै गाह्रो भएका छन् ।”

एउटा उद्योगका लागि ६०० देखि एक हजार टन कोइलाको आवश्यकतापर्ने गरेको छ । इँटा उद्योग सञ्चालनका लागि ठूलो पूँजी लगानी गर्नुपर्ने अवस्था रहेकाले बिस्तारै पलायन हुने स्थितिमा पुगेको इँटा व्यवसायी बताउँछन् । “पहिला थोरै पूूँजीमा इँटा उद्योग सञ्चालन हुन्थ्यो”, इँटा व्यवसायी शशि यादवले भन्नुभयो, “अहिले इँटा उद्योग सञ्चालनका लागि कम्तीमा रु एक करोडको पूँजी चाहिन्छ, त्योभन्दा कम पूँजीमा इँटा उद्योग चलाउनै सकिँदैन ।”

कोइला महँगो, सरकारी कर चर्को भएको र वर्षाका कारण इँटामा पुगेको क्षति जस्ता कारणले इँटाको मूल्य बढाइएको व्यवसायी सङ्घका अध्यक्ष साहले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि प्रतिइँटा रु १४ मा बेच्दै आएकामा दुई रुपैयाँ वृद्धि गरी प्रतिइँटा रु १६ का दरले बिक्री गर्ने निर्णय गरेका छौँ ।” जिल्लामा ७२ इँटा उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले जनाएको छ । दर्ता गरेकामध्ये हाल ४२ इँटा उद्योग सञ्चालनमा रहेका छन् । सप्तरीमा वार्षिक एक करोड २५ लाख इँटा उत्पादन हुने गरेका बताइएको छ ।