काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा भएपछि एमालेभित्र नेतृत्वको बहस सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि इच्छुक देखिएका बेला पोखरेलले उम्मेदवारी घोषणा गरेर बहस पेचिलो बनेको हो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले आफ्नो टिमसमेत बनाउन सुरु गरेका छन् । उनले आफ्नो टिमको उपाध्यक्षमा सम्भवत: अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलाई अघि सार्ने तयारी गरेका छन् । त्यसका लागि उनीहरुसँग छलफलसमेत भइसकेको छ ।
यसैगरी पोखरेलको समूहबाट महासचिवमा योगेश भट्टराई र गोकर्ण विष्ट आकांक्षी छन् । तर भट्टराईलाई महासचिवको उम्मेदवार बनाएर विष्टलाई उपमहासचिव दिने तयारी छ ।
यसैगरी पोखरेलको प्यानलबाट विन्दा पाण्डे, विनोद ढकाल, गोकुल बास्कोटा, रचना खड्का सचिवका दाबेदार देखिएका छन् ।
ओली समूहमा रहेका केही नेताहरुलाई समेत आफ्नो प्यानलमा ल्याउन पोखरेलले पहल गरिरहेका छन् । उनीहरुलाई दिन सकिने पदका विषयमा पनि यो समूहमा छलफल जारी छ ।
यता ओली पक्षले भने ११औं महाधिवेशनमा आफ्नो प्यानलको उम्मेदवारीबारे खासै छलफल चलाएको छैन । अध्यक्ष ओलीले जसलाई अघि बढाउन चाह्यो त्यही उम्मेदवार बन्ने भएकाले पनि यसमा छलफल नभएको हो ।
त्यसो त ओली र पोखरेल दुवै समूहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई साथ र सहयोग गर्नेहरु पनि छन् । उनीहरु सबै अहिले एक ठाउँमा आएका छैनन् । पोखरेल पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा छन् भने ओली कुनै पनि हालतमा सदस्यता नवीकरण नगर्ने अडानमा छन् ।
यो अवस्थामा महाधिवेशमा भण्डारीको भूमिका पनि एमाले महाधिवेशनमा निर्णायक हुने छ ।










