२४ मंसिर २०८२, बुधबार
,
Latest
लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमाह सिमसार पर्यटकीय गन्तव्य



अ+ अ-

धरान, (सुनसरी) । बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ ।

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि धेरै पर्यटक आउने गरेका छन् ।

सिमसार क्षेत्रभित्र अमाह देवीथान मन्दिर पनि छ, जुन धार्मिक पर्यटकको प्रमुख गन्तव्य रहेको अध्यक्ष घले बताउनुहुन्छ । जहाँ उधौली–उभौलीका बेला विशेष पूजा गरिन्छ । यहाँ पूजा गर्दा हराएको सामान फेलापर्ने जनविश्वासका कारण पनि यहाँ दैनिक रूपमा भक्तजन आउने गरेका अध्यक्ष घलेले बताउनुभयो ।

सिमसार क्षेत्रमा दैनिक दुई हजारदेखि दुई हजार ५०० जति पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन करिब १० हजारसम्म पर्यटक आउने गरेका उहाँको भनाइ छ । अध्यक्ष घलेले भन्नुभयो, “ठूलो खुला क्षेत्रफलमा फैलिएको ठाउँ भएका कारण एकैपटकमा ७० देखि ८० वटा समूहले वनभोज (पिकनिक) खान सक्ने क्षमता रहेकाले विशेषगरी पिकनिक तथा शैक्षिक भ्रमणका लागि यो स्थल लोकप्रिय बन्दै गएको छ ।” धेरैजसो पर्यटक असोजदेखि माघ, फागुनमा अत्यधिक वृद्धि हुने गरेको अधयक्ष घलेले बताउनुभयो ।

सिमसार सामुदायिक वन नजिकै भएकाले साँझपछि हात्ती देखापर्ने सम्भावना रहने भएकाले सुरक्षाका हिसाबले ५:३० पछिको समय व्यवस्थापन गरेर पर्यटकलाई आफ्नो गन्तव्यतर्फ पठाइने गरिएको अध्यक्ष घलेले जानकारी दिनुभयो । अमाह सिमसारभित्र हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायतका विभिन्न वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटक पनि यहाँ आउने गरेका छन् । यही चहलपहलका कारण स्थानीय आधा दर्जनभन्दा बढी व्यापारी सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रदेश सरकारले २०७८/७९ मा रु २० लाख र २०७६/७७ मा रु १० लाख बजेट विनियोजन गरिदिएकाले सिमसारको कम्पाउण्ड, गेट तथा भित्र चिल्ड्रेन पार्क निर्माण गरिएको अध्यक्ष घलेले बताउनुभयो । पोखरीको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र सिमसारको थप प्रवर्द्धनका लागि प्रत्येक वर्ष प्रदेश र सङ्घीय सरकारबाट सहयोग हुँदै आएको उहाँले बताउनुभयो । रासस