काठमाडौँ । नेपाली प्रीमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले हराएको हो । १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जर्ज मुन्सीले ३६, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ तथा बसिर अहमदले १९ रन जोडे भने लोकेश बमले १४ रन बनाए ।
बलिङतर्फ काठमाडौँका शाहब आलमले दुई तथा करण केसी, जेरहार्ड इरास्मस र सन्तोष यादवले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाण्डुले २० ओभरमा ६ विकेट गुमाएर १३४ रन जोड्यो । उसका लागि मोहम्मद आदिल आलमले अविजित ४८ रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, बेन चाल्र्सवर्थले ३२ रन जोडे भने सन्तोष यादवले २६ रन बनाए ।
बलिङतर्फ मर्चेन्ट डि लान्जले दुई तथा शुभम रञ्जने, सुर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
यसअघिको खेलमा विराटनगरले पोखरालाई ५३ रनले हराएको थियो भने काठमाण्डुले जनकपुरलाई ५ विकेटले हराएको थियो ।










