काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताउनुभएको छ ।
केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि बताउनु भयो । उहाँले नेपाली काँग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताउनु भयो ।
आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरुलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने बताउनु भयो । निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि बताउनु भयो । सरकार राजनीतिक दलहरुले निर्वाध रुपमा राजनीतिक गतिवधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘फगुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेस सहभागी हुन्छ । त्यो सँगै नेपाली काँग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ । सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरु फरार छन् । राजनीतिक दलहरुले निर्वाध रुपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरुले निर्वाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनैपनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन । केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैल्याउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ । सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन् । यो गलत छ, यसको विरुद्धमा हामी उभिन्छौँ । नेपाली काँग्रेसले आजका निर्णयहरुको भारी बोकेर शिर अग्लो बनाएर गर्वका साथ हिँड्न अधिवेशन गर्नैपर्छ । आज गरेको निर्णयलाई अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ अघि बढाउन सक्छ । यो अधिवेशन निर्वाचनअघि अनिवार्य गर्नैपर्छ । आवधिक अधिवेशन गर्नुपर्छ । अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७, २८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली काँग्रेसले गर्दछ ।’
महामन्त्री थापाले नेपाली काँग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनु भयो ।










