२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक तटवन्धले जमिन कटान रोकियोः प्रविधि प्रभावकारी देखिएपछि बजेट छुट्याउँदै स्थानीय सरकार



अ+ अ-

काठमाडौँ: नदी छेउमा बनाइएका जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् । पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरुका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् ।

त्यस्तै बाढीको अत्याधिक जोखिममा पर्ने स्थान मध्य एक हो बर्दियाको मधुवन नगरपालिका वडा नं. २ को बंगालीपुर गाउँ । बंगालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटिय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटवन्ध निर्माण गरिएको छ । तटवन्ध निर्माणपछि स्थानीयवासीले सुरक्षित महशुस गरेका छन् । खोज तथा उद्धार समिति बंगालीपुरका संयोजक गीता थारुकाअनुसार त्यस्ता तटवन्धले कटान रोक्ने मात्रै नभई धेरै कृषि उत्पादनहरु सुरक्षित भएको र केही स्थानमा बाढी आउन समेत रोकिएको बताइन् । उनले भनिन् ‘पहिले हाम्रो  गाउँसम्म बाढी पस्थ्यो, धान पनि डुबाउँथ्यो, बगाउँथ्यो । धेरै खेतीयोग्य जमिनहरु नदीले काटेर लग्यो ।  अहिले तटवन्ध बनाएपछि भने बाढी आउन रोकिएको छ, गाउँ पनि सुरक्षित भएको  छ ।’

बंगालीपुर हुँदै बग्ने औराही खोलामा आउने बाढीले गाउँ नै  डुबानमा पथ्र्यो । खेतको अन्न तथा तरकारीबालीको साथै सञ्चित खाद्यान्नमा पनि नोक्शान गथ्र्यो । बस्तीमा पानी पसेपछि स्थानीयहरु घर छोड्न बाध्य हुन्थे । पशु चौपाया र बालबच्चा लिएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता अहिले छैन ।  बंगालीपुरका चौकीदार लक्ष्मीराम थारु जैविक तटवन्ध बनेपछि बाढीको त्रास हटेकोमा खुशी छन् । उनले भने – ‘तटवन्धन बन्नुअघि हाम्रो धेरै समस्या थियो, गाउँ नै डुब्थ्यो, पहिले पहिले धान खेत सबै डुब्थ्यो, बाढीले घर बगाइदिँदा कहाँ खाने कहाँ सुत्ने ठेगान हुँदैन थियो । अहिले तटबन्ध बनेपछि पानी परेको समयमा पनि घरमा नै बस्न पाएका छौं, ढुक्क भएको छ ।’

विक्रम संवत २०७२ मा बाढी उत्थानशील कार्यक्रममार्फत प्राक्टिकल एक्शनको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट जैविक तटवन्ध निर्माण भएपछि २ सय १५ घरधुरी डुवानबाट जोगिएका छन् । स्थानीयतहमा उपलब्ध साधन स्रोत बाँस, बालुवा भरिएको बोरा, डोरी, तार जस्ता सामग्रीबाट २ सय २० मिटर जैबिक तटवन्ध निर्माण गरिएको थियो । तटवन्धपछि अहिले खोलाको बाढी गाउँ पस्न रोकिएको छ । ‘जैविक तटवन्धन बन्नु अघि घर खेत सबै नाश गथ्र्यो, बच्चाहरु पनि डराउँथे । तटवन्ध बनेपछि सुरक्षित भएका छौं । पहिला भोग्नुपर्ने समस्या समाधान भएको छ ।’ स्थानीय सम्झना थारुको खुशी पनि चुलिएको छ । किन कि अब बाढी आयो भनेर बालबच्चा च्यापेर भाग्नुपर्ने अवस्था छैन ।
बाँस र रुख रोपिएकाले रुखका जराले तटबन्ध बलियो बनाएको छ । तटवन्ध निर्माण भएको १० वर्ष बितिसक्दा तटवन्धले प्राकृतिक स्वरुप लिएकाले बलियो र मजबुत छ । खोलाले कटान गर्न पाएको छैन । मधुवन नगरपालिका वडा नं. २ का अध्यक्ष आशाराम थारु अन्य जोखिम पूर्ण स्थानमा पनि जैविक तटवन्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । ‘वडा नम्बर २ मा २०७२ सालमा तटवन्ध बनेपछि समुदायमा क्षति भएको छैन । बालीनालीको नोक्शान भएको सुन्नमा आएको छैन । जैविक रुपमा नै तटवन्ध बनेको कारण यसको रिजल्ट पनि राम्रो देखिएको छ,  तटवन्ध बनेपछि बाढी र कटानको घटना भएको छैन ।’ बाढीले नोक्शान गरेको खबर सुन्न नपरेपछि व्यवस्थापनमा पनि सजिलो भएको छ । स्थानीय सरकारको विपद् व्यवस्थापनमा खर्चहुने रकम पनि जोखिएको छ ।

राजापुर नगरपालिका वडा नं.३ रजपुरवा र वडा नं.४ मुक्तकमैया टोलको बुढी खोलामा पनि जैविक तटवन्ध निर्माण गरिएको छ । यस्तै कञ्चनपुरको शूल्काफाँटा नगरपालिका तिल्कीको दोदा नदीमा पनि जैविक तटबन्ध बनाइएको छ । तटबन्धले बाढी र कटान रोकेपछि वर्षौंदेखि बाँझो खेतमा तरकारी र अन्नखेती गर्न थालिएको छ ।

विक्रम संवत २०६५ मा दोदा नदीमा आएको बाढीबाट शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका १२ परिवार र लालझाडीको सिंगो गाउँ नै विस्थापित भएको थियो । दोदा नदीमा हरेक वर्ष आउने बाढीले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी र पुनर्वासमा ठूलो क्षति पु¥याउँथ्यो । नदीले खेत कटान गर्दै गाउँसम्म पुगिसकेको थियो भने वरपरका जमिन पनि बाँझो थिए । प्राक्टिकल एक्शन र पेसवानको सहकार्यमा संचालित समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रम अन्र्तगत तिल्की आसपास दोदा नदीमा चार सय मिटर जैविक तटवन्ध निर्माणपछि बाढी मात्रै रोकिएको छैन, वर्षौंदेखि बाँझो जमिन हराभरा देखिन थालेका छन् । यसले स्थानीय ८५ घर परिवारमा खुशी ल्याएको छ ।

शुक्लाफाँटा नगरपालिका १२, तिल्की कञ्चनपुरकी कलावतीदेवि डगौरा तटवन्ध बनेपछि खेती गर्न सहज भएको र बाढीले बगाइदिने डर पनि नभएको बताउछिन् । ‘पहिला भन्दा सजिलो भएको छ । खोलाबाट पानी माथि फर्किन्थ्यो ।  बाढीले सबै बगाउथ्यो । तटवन्ध पछि घाँस रोप्यौँ, बाँस रोप्यौ, चरिचरन पनि बन्द ग¥यौं । अहिले सरखण्ड, उखु, मास रोपेका छौं । ’

नदी कटान रोकी क्षति न्युनिकरण गर्न बाँस, बोरा, स्याउला, बालुवाको प्रयोग गरी जैविक तटवन्धन निर्माण गरिन्छ । समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रमका प्राविधिक सुपरीवेक्षक जनक लेखकले वातावरणमैत्री र स्थानीय स्रोतसाधन प्रयोगबाट निर्माण गरिने जैविक तटवन्ध कम खर्चिलो र धेरै प्रभावकारी रहेको बताए । उनले भने‘ यो वातावरणमैत्री पनि छ । स्थानीय स्तरमा प्राप्त स्रोत साधन नै प्रयोग हुन्छ । यसमा बढी बाँस प्रयोग हुन्छ । यो कम खर्चिलो पनि छ ।

पहिलो चरणमा परियोजनाबाट १० लाख ६८ हजार ४ सय र दोश्रो चरणमा १० लाख ५० हजार ३ सय गरी लगभग २१ लाख रुपैयाँ रकम खर्च गरिएको छ । ४ सय मिटर लामो जैविक तटवन्ध  निर्माणमा स्थानीयवासीले १ लाख १० हजार बराबरको जनश्रमदान गरेका छन् । जैविक तटवन्धले ३० हेक्टर क्षेत्रफल जमिन कटान हुन बाट जोगिएको छ ।

तटबन्ध पछि तटिय क्षेत्रका स्थानीयले बगर छेउमा उखु, सखरखण्ड, बदाम लगायत कृषि तथा तरकारी लगाएर आयआर्जन गर्न थालेका छन् । तिल्कीको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव मंगलप्रसाद चौधरीले जोखिमपूर्ण स्थानमा जैविक तटबन्ध नै निर्माण गर्नुपर्ने सुझाव दिन्छन् । ‘यो वातावरणमैत्री प्रविधि हो । यसबाट कटानी पनि रोकिन्छ र केही हदसम्म बाढी पनि । स्थानीय सीपले पुग्ने, यो प्रविधि सजिलो र सस्तो भएकाले कम पैसामा धेरै ठाउँमा तटवन्ध बनाउन सकिन्छ । २४ लाखमा हामीले चार सय मिटर तटबन्ध निर्माण ग¥यौँ । यसको दक्षिणतर्फ पनि यस्तै तटवन्ध गरेर घाँस, खर उत्पादन गरि ढकिया लगाएत बनाउन काम लाग्छ । त्यसैले यो प्रविधि अन्यत्र पनि प्रयोग गर्न सुझाब दिन्छु ।’

सानो लगानीमा प्रभावकारी नतिजा प्राप्त भएपछि स्थानीय सरकारले जैविक तटबन्ध निर्माणमा बजेट छुट्याउन थालेका छन् । आफू मातहतका प्राविधिकको सुझावमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० ले पनि जोखिमपूर्ण स्थानमा जैविक तटवन्ध निर्माणको काम अघि बढाउने तयारी गरेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवल सिंह राना भन्छन्—‘नगरपालिकाका प्राविधिकहरुले पनि यो प्रविधिलाइ राम्रो भन्नुभएको छ । हामीले आवश्यकताअनुसार शुक्लाफाँटा नगरपालिका भित्रका अन्य वडामा पनि जैविक तटवन्ध बनाउने तयारी गरेका छौं । ’

बर्दियाको गुलरिया नगरपालिकास्थित बालापुरमा सबैभन्दा पहिले जैबिक तटवन्ध निर्माण गरिएको थियो । यो तटवन्ध सफल अनि प्रभावकारी देखिएपछि जलवायु उत्थानशिलमा काम गर्दै आएका संघ संस्था र स्थानीय सरकारले चासो देखाइ बजेट छुट्याउन थालेका छन् ।

अहिले राजापुर नगरपालिकाको राजापुरुवा मुक्तकमैया टोल, जानकी गाउँपालिकाको सातबिघा, बक्लहवा, फरेला, गेरुवा गाउँपालिकाको दक्षिणपुरमा पनि जैविक तटवन्ध बनाइएको छ । अहिले यी स्थानमा मनसुन तथा अन्य समयमा पानी पर्ने बित्तिकै नदी तटिय गाउँबस्ती डुबानमा पर्ने तथा स्थानीयको घर, कृषिबाली तथा भण्डारण गरिएको खाद्यान्नमा हुने क्षति रोकिएको छ । तटिय क्षेत्रका बासिन्दाले नदी किनार तथा बगरमा तरकारी तथा अन्नबाली लगाएर आयआर्जन पनि गर्न थालेका छन् । अहिले यस्ता जैविक तटवन्ध कञ्चनपुरको दोदा, राजापुर नगरपालिकाको बुढीखोाला, बालापुर गुलरियााको बबई लगायत १२ भन्दा बढी समुदायमाा निर्माण भईसकेका छन् । –न्युज एजेन्सी नेपाल