काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले उनीहरूको मुद्दाको मूल मिसिल झिकाउनका लागि आदेश दिएको थियो । मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको र गोलाप्रथाबाट इजलासको टुङ्गो लाग्ने उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जनाए ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
अदालतले यसअघि नै लामिछाने र जोशी मुद्दा एकै साथ हेर्न आदेश दिएको थियो । आज पेसी तोकिएपछि दुबैका कानुन व्यावसायीहरु बहसमा सहभागी हुनेछन् । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा रहेका छन् ।









