२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल नदिँदा बेहुला नै आएन…



अ+ अ-

लाहान । धनुषाको नगराइन नगरपालिका २ जटहीमा पूजा (नाम परिवर्तन) को विवाहका लागि उनको परिवार धुमधामसँग जुटेको थियो । २५ फागुनमा हुने विवाहका लागि गच्छे अनुसारको ऋण काढेर छोरीको विवाहका लागि परिवार जुटेको थियो । उनको विवाह धनुषाको भुतही पटेर्वा निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशीलसँग हुने तय भएको थियो । विवाहका लागि सबै तयारी भईसकेपछि आइतबार आउनुपर्ने जन्ती एकाएक आएनन् । बेहुला नआएपछि केटीपक्षमा हल्लीखल्ली भयो । त्यसपछि केटी पक्षले केटा पक्षसँग नआउनुको कारण सोधेपछि रहस्य खुल्यो । पूर्वसहमतिअनुसार मोटरसाइकल नदिएको भन्दै बेहुला पक्षले विवाह गर्न अस्वीकार गरेको बताए ।

विवाहपूर्व बेहुली पक्षले दुई आना सुन र २ लाख रुपैयाँ पर्ने मोटरसाइकल दाइजोमा दिने भनेर टुंगो लागेको रहेछ । आर्थिक अवस्था अत्यन्त कमजोर भए पनि केटी पक्षले छोरीको विवाहका लागि ५ लाख रुपैयाँ चर्को ब्याजमा लिएर सबै तयारी गरेका थिए । तर, दाइजोमा भनेको मोटरसाइकल अगावै दिन नसक्दा विवाह नै रोकिएपछि केटी पक्षको परिवार अहिले निकै तनावमा छन् । केटी पक्षले ३ दिनभित्रै आफूले भनेको मोटरसाइकल दिने भन्दै विवाह नतोड्न केटापक्षसँग हार गुहार पनि गरे । तर, केटा पक्षले तत्कालै मोटरसाइकल दिएमात्र विवाह गर्ने बतायो ।

सोही दिन १०/१२ जना आफन्त र समाजका प्रतिष्ठित व्यक्तिको समूह बेहुलाको घरमा पुगे । बेहुलापक्षलाई जसरी पनि विवाहको लागि मनाउनका लागि एक लाख रुपैयाँका साथमा बेहुलीका बुबाको नागरिकता बन्धकी स्वरूप राख्नसमेत आग्रह गरे । ‘एक लाख रुपैयाँ नै तत्काल लिनुस्, नागरिकता बन्धकी राख्नुस् । हामीले मोटरसाइकल भोलि नै उपलब्ध गराइदिन्छौँ, तर यो विवाह इन्कार नगर्नुस् भनेर हाम्रो पक्षबाट गएका सबैले बिलौना गरे, तर, केही चलेन,’ पूजाकी आमाले भनिन्, ‘केटालाई नै उनको परिवारले भगाइदिए । केटालाई हेर्नसमेत दिएननन् ।’

उनले छोरीको विवाहको लागि ५ लाख रुपैयाँ ऋण काढेर तयारी गरेको र सबै खर्च भएकाले त्यो सबै लगानी केटा पक्षले तिर्नुपर्ने माग गर्दै प्रशासन गुहारेकी छन् । प्रशासनमा उजुरी दिँदै केटी पक्षले विवाह नगर्ने बेहुला पक्षलाई कडा कारबाही गर्न माग गरेका छन् । ‘पाँच लाख रुपैयाँ साहु महाजनसँग ऋण काढेर विवाहको लागि सबै खर्च गरेँ । यो क्षतिपूर्ति हामीलाई उपलब्ध गराउन र केटापक्षलाई कारबाही गराउन सहयोग गरिदिनुस्’, उनकी आमाले भनिन् । उनले अब त्यो केटासँग छोरीको विवाहसमेत गर्न नसक्ने बताइन् । विवाह रोकिएपछि पूजाले बेहुलापक्षलाई कारबाही हुनुपर्ने माग गरेकी छन् । जन्ती नआउने खबरपछि उनीहरू निराश त छँदै छन्, विवाहका लागि लिएको ऋण कसरी तिर्ने भनेर दैनिक चिन्तामा डुब्न थालेका छन् ।

‘मोटरसाइकल नै नदिएको कारण विवाह नगर्ने केटासँग बिहे गरेर म के गरौँला र ? भोलि कुनै बहानामा कुटपिट गर्छन् । हत्या नै गरिदिन सक्छन्,’ पूजाले भनिन्, ‘तर, विवाह गर्ने समय तोकेर बिहे नगर्ने र अरूको प्रतिष्ठामाथि आँच पुर्याउनेलाई कडा कारबाही हुनुपर्छ ।’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले दाइजोको कारण विवाह रोक्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । उनले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । ‘दाइजो कसुरमा केटा पक्षलाई कारबाही गर्न सकिन्छ,’ प्रजिअ कँडेलले भने, ‘तर, त्यसको लागि छोरी पक्षले जाहेरी दिनुपर्यो ।

हामी कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’ कानुनअनुसार दाइजो माग्नेलाई ३ वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ । ‘आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन’, भनेर कानुनमा उल्लेख गरिएको छ । माथि उल्लेखित बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुने भनेर तोकिएको छ । सौर्य दैनिक