जनकपुर । मधेसको प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी ७ राजनीतिक दलको गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक आह्वान गरेको छ ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रश्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुको टोलीले उपसभामुखलाई भेटेर प्रदेश सभाको बैठका आह्वान गर्न माग गरेका हुन् ।
विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधवार आह्वान गर्न माग गर्नुभयो । उहाँसँगै जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जनमत पार्टीको संसदीय दलको नेता महेश यादव सहितको उपस्थिति रहेको थियो ।
प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रश्तावमाथि छलफल प्रकृया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिनुभयो । उहाँले सभामुखमाथि दर्ता गरिएको प्रश्तावमाथि छलफल प्रकृया अगाडी बढाउनका लागि आफूहरुले प्रदेशसभा बैठक बोलाउन माग गरेको बताउनु भयो ।
प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् । तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले कातिक २२ गते विश्वास मत लिनका लागि बसेको प्रदेशसभा बैठक स्थगित भएदेखि अहिलेसम्म बस्न सकेको छैन । प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद तथा सभामुखले ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले डाकेको छैन ।










