काठमाडौँ । व्यवस्था परिवर्तनका लागि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् ।
व्यवसायी प्रसाईंलाई गएराति भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।
सोमबार दिउँसोसम्म उनले आफैं गिरफ्तारी दिनेसमेत दाबी गर्दै आएका थिए । अहिले उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लागिसकेको छैन । मंगलबार सरकारी वकिलसँग समेत सल्लाह गरेर उनलाई म्याद थपका लागि अदालत हाजिर गराइने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा आफूलाई चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् ।
प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो ।
केही दिनअघि गृह मन्त्रालयमा प्रसाईं समूहका तर्फबाट २६ बुँदे माग पत्र लिएर केही व्यक्ति वार्ताका गृह मन्त्रालय पुगेका थिए ।
प्रसाईं यसअघि दुई पटक साइबर कसुरसम्बन्धी र चैत १५ को घटनाका मुख्य प्रतिवादी हुन् । उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।
सरकारले दुर्गा प्रसाईंसहित अराजक अभिव्यक्ति दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाउन सक्ने संकेत दिएको थियो । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको सुरक्षा समितिको बैठकमा परिस्थिति भड्काउने गरी विभिन्न व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।
निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो ।










