२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौला र कोरोना भाइरस



अ+ अ-

विश्वभर करिब ८५ करोड मानिस मिर्गौला रोगबाट पीडित रहे पनि यो नसर्ने रोग हो । प्रत्येक १० जनामध्ये १ जना दीर्घकालीन मिर्गौला रोगको सिकार छन् । विश्वभर यसबाट प्रभावित हुने संख्या बढ्दो छ र सन् २०४० सम्म यो रोग मृत्युको प्रमुख पाँचौँ कारक हुने अनुमान छ । मिर्गौला रोगको रोकथाम गर्न सकिन्छ । समयमै सही निदान र उचित उपचारबाट मिर्गौला फेल हुने गतिलाई कम गर्न सकिन्छ । सर्वसाधारण, व्यावसायिक समूह र नीति निर्माताहरूमाझ यसबारे व्यापक चेतना जगाउनु आवश्यक छ । यस वर्षको विश्व मिर्गौला दिवसले विश्वभर द्रुतगतिमा बढिरहेको मिर्गौला रोग र समग्र स्वास्थ्यबारे जनचेतना अभिवृद्धिको प्रमुख उद्देश्य राखेको छ ।

डा. पुकारचन्द्र श्रेष्ठ

यो रोगको रोकथाम तीन किसिमबाट गर्न सकिन्छ: रोग लाग्नु अगावै सचेत भएर, रोगको सुरुकै अवस्थामा तत्काल निदान र उपचार गरेर अनि रोगले आक्रान्त पारेको अवस्थामा थप क्षति हुन नदिन नियन्त्रणका उपायहरू अपनाएर । अहिले त झन् विश्व नै कोरोना भाइरसको त्रासमा रहेकाले मिर्गौलालाई कुनै कैफियत नहोस् भनी हामी बढी नै सचेत रहनुपर्छ । यो भाइरसले मुख्यतः श्वास–प्रश्वास प्रणालीमा आक्रमण गर्ने भए पनि मिर्गौलालाई पनि समस्यामा पार्न सक्छ । श्वास–प्रश्वास प्रणालीमा समस्या भएकाहरूको मिर्गौला पनि अस्वस्थ रहने सम्भावना हुन्छ ।

केही वर्षअघि हङकङमा गरिएको अध्ययनमा श्वास–प्रश्वासका ६.७ प्रतिशत बिरामीमा मिर्गौला समस्या पनि पाइयो । श्वास–प्रश्वास प्रणाली र मिर्गौलाको कार्यक्षमतामै प्रभाव परेकामध्ये ९१.७ प्रतिशतको मृत्यु भएको थियो । जबकि मिर्गौलामा कुनै असर नभई श्वास–प्रश्वास प्रणालीमा मात्र समस्या भएकामध्ये ८.८ प्रतिशतको मात्रै मृत्यु भएको थियो । उक्त अध्ययनमा श्वास–प्रश्वास सम्बन्धी गम्भीर समस्या बढी उमेरका बिरामीहरूमा धेरै पाइएको थियो । यसबाट कोरोना भाइरसले मिर्गौलालाई आक्रमण गर्ने सम्भावना कम देखिए पनि श्वास–प्रश्वास प्रणालीसहित मिर्गौलामा पनि आक्रमण भए अति उच्च दरमा मृत्यु हुने गरेको पाइन्छ ।

हामीमध्ये जोकोही कुनै प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनसक्छौं, तापनि धेरैजसोमा यो संक्रमण साधारण रुघाखोकीमा सीमित हुने गर्छ । कोरोना भाइरस संक्रमणको सुरुआतमा रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, कपाल दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । तर संक्रमण गम्भीर भए जाडो हुने, पूरा शरीर दुख्ने, निमोनिया हुने, श्वास–प्रश्वास प्रणालीसँगै मिर्गौला फेल भई मृत्यु हुने सम्भावना रहन्छ । यस्तो गम्भीर अवस्थामा मुटु र छातीका बिरामीहरू तथा मिर्गौला प्रत्यारोपित, साना केटाकेटी र वृद्धवृद्धा जस्ता प्रतिरक्षा प्रणाली कमजोर भएकाहरू विशेष जोखिममा पर्ने सम्भावना रहन्छ ।

चीनका महामारी विज्ञ झाङ नान्सानले कोरोनाको वैश्विक महामारी आगामी जून महिनासम्म रहने अनुमान गरेका छन् । यो भाइरसको मृत्युदर इटालीमा ५ प्रतिशत तथा दक्षिण कोरियामा ०.६ प्रतिशत रहेको पाइएको छ । हाल विश्वको औसत मृत्युदर ३.५ प्रतिशत छ । संक्रमित र मृत्यु भएकाको संख्याका हिसाबले चीन पहिलो नम्बरमा भए पनि मृत्यु अनुपातका हिसाबले इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । इटालीका सेना प्रमुख पनि संक्रमित भएका छन् । इटाली र दक्षिण कोरिया दुवै देशमा संक्रमितको संख्या ७,००० कटेको छ र दक्षिण कोरियाका तुलनामा इटालीमा सात गुणा बढी संक्रमितको ज्यान गएको छ ।

दक्षिण कोरियाले प्रतिदिन १०,००० भन्दा बढीमा भाइरसको परीक्षण गरेर विश्वसामु नमुना पेस गरेको छ । उक्त देशको प्रयोगशालाको उत्कृष्ट क्षमताको विश्वभर प्रशंसा भएको छ । कोरोना भाइरसबाट चौथो सबैभन्दा प्रभावित मुलुक इरान हो । त्यहाँ हालसम्म ६,५६६ जनामा संक्रमणको पुष्टि भएको छ र २३७ जनाले ज्यान गुमाएका छन् । इरानका उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्री तथा सांसदहरू भाइरसको सिकार बनेका छन् र एक सांसदको ज्यानसमेत गएको छ ।

नेपाललाई तीनतिरबाट घेरेको भारतमा ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा जोखिम वृद्धि हुने भएकाले नेपालको ध्यान मूलतः भारततर्फै केन्द्रित हुनुपर्छ । नेपालमा अहिलेसम्म संक्रमण नदेखिनु सुखद भए पनि यसको सत्यता हाम्रा प्रयोगशाला लगायतको क्षमता र जाँच गर्ने प्रक्रियालाई विश्वसनीय बनाइराख्नु जरुरी छ ।

मानव–मानवबीच प्रसारण: कोरोना भाइरस संक्रमणपछि रुघाखोकीमा जस्तै लक्षण हुने भएकाले यसको रोकथाम र जाँचमा गम्भीर चुनौती थपिएको छ । यो भाइरस तीव्र गतिमा सर्ने खालको हुन्छ । संक्रमितको श्वास, खोकी र हाच्छ्युँबाट सर्न सक्छ । कोरोना भाइरस श्वास–प्रश्वास प्रणालीको तल्लो भाग (रुद्रघण्टीभन्दा मुनि) सम्म फैलिएमा निमोनिया लगायतको जटितलता उत्पन्न भई संक्रमितको अवस्था गम्भीर हुनसक्छ । यो भाइरस संक्रमितले खोक्दा र हाच्छ्युँ गर्दामात्रै सर्ने नभई नजिकैको सम्पर्क (जस्तै: छुँदा वा हात मिलाउँदा) पनि सर्न सक्छ । त्यस्तै भाइरस रहेको कुनै वस्तुलाई छोएको हात नधोई नाक, मुख र आँखा छुँदा पनि भाइरस सर्ने सम्भावना रहन्छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनी: कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन नियमित रूपमा हात धुने, मास्क लगाउने र खोक्दा या हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने तथा मासु र अन्डा राम्ररी पकाएर मात्रै खाने गर्नुपर्छ । साथै रुघाखोकी लागेका र श्वास–प्रश्वास समस्या भएका व्यक्तिहरूसँग सम्पर्कमा नआउनु बेस हुन्छ । भीडभाड, सभा–सम्मेलन र भोजभतेरमा सहभागी नहुनु नै सर्वथा उचित हुन्छ । श्रेष्ठ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक हुन् । कान्तिपुर दैनिक




भर्खरै