विश्वभर करिब ८५ करोड मानिस मिर्गौला रोगबाट पीडित रहे पनि यो नसर्ने रोग हो । प्रत्येक १० जनामध्ये १ जना दीर्घकालीन मिर्गौला रोगको सिकार छन् । विश्वभर यसबाट प्रभावित हुने संख्या बढ्दो छ र सन् २०४० सम्म यो रोग मृत्युको प्रमुख पाँचौँ कारक हुने अनुमान छ । मिर्गौला रोगको रोकथाम गर्न सकिन्छ । समयमै सही निदान र उचित उपचारबाट मिर्गौला फेल हुने गतिलाई कम गर्न सकिन्छ । सर्वसाधारण, व्यावसायिक समूह र नीति निर्माताहरूमाझ यसबारे व्यापक चेतना जगाउनु आवश्यक छ । यस वर्षको विश्व मिर्गौला दिवसले विश्वभर द्रुतगतिमा बढिरहेको मिर्गौला रोग र समग्र स्वास्थ्यबारे जनचेतना अभिवृद्धिको प्रमुख उद्देश्य राखेको छ ।

यो रोगको रोकथाम तीन किसिमबाट गर्न सकिन्छ: रोग लाग्नु अगावै सचेत भएर, रोगको सुरुकै अवस्थामा तत्काल निदान र उपचार गरेर अनि रोगले आक्रान्त पारेको अवस्थामा थप क्षति हुन नदिन नियन्त्रणका उपायहरू अपनाएर । अहिले त झन् विश्व नै कोरोना भाइरसको त्रासमा रहेकाले मिर्गौलालाई कुनै कैफियत नहोस् भनी हामी बढी नै सचेत रहनुपर्छ । यो भाइरसले मुख्यतः श्वास–प्रश्वास प्रणालीमा आक्रमण गर्ने भए पनि मिर्गौलालाई पनि समस्यामा पार्न सक्छ । श्वास–प्रश्वास प्रणालीमा समस्या भएकाहरूको मिर्गौला पनि अस्वस्थ रहने सम्भावना हुन्छ ।
केही वर्षअघि हङकङमा गरिएको अध्ययनमा श्वास–प्रश्वासका ६.७ प्रतिशत बिरामीमा मिर्गौला समस्या पनि पाइयो । श्वास–प्रश्वास प्रणाली र मिर्गौलाको कार्यक्षमतामै प्रभाव परेकामध्ये ९१.७ प्रतिशतको मृत्यु भएको थियो । जबकि मिर्गौलामा कुनै असर नभई श्वास–प्रश्वास प्रणालीमा मात्र समस्या भएकामध्ये ८.८ प्रतिशतको मात्रै मृत्यु भएको थियो । उक्त अध्ययनमा श्वास–प्रश्वास सम्बन्धी गम्भीर समस्या बढी उमेरका बिरामीहरूमा धेरै पाइएको थियो । यसबाट कोरोना भाइरसले मिर्गौलालाई आक्रमण गर्ने सम्भावना कम देखिए पनि श्वास–प्रश्वास प्रणालीसहित मिर्गौलामा पनि आक्रमण भए अति उच्च दरमा मृत्यु हुने गरेको पाइन्छ ।
हामीमध्ये जोकोही कुनै प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनसक्छौं, तापनि धेरैजसोमा यो संक्रमण साधारण रुघाखोकीमा सीमित हुने गर्छ । कोरोना भाइरस संक्रमणको सुरुआतमा रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, कपाल दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । तर संक्रमण गम्भीर भए जाडो हुने, पूरा शरीर दुख्ने, निमोनिया हुने, श्वास–प्रश्वास प्रणालीसँगै मिर्गौला फेल भई मृत्यु हुने सम्भावना रहन्छ । यस्तो गम्भीर अवस्थामा मुटु र छातीका बिरामीहरू तथा मिर्गौला प्रत्यारोपित, साना केटाकेटी र वृद्धवृद्धा जस्ता प्रतिरक्षा प्रणाली कमजोर भएकाहरू विशेष जोखिममा पर्ने सम्भावना रहन्छ ।
चीनका महामारी विज्ञ झाङ नान्सानले कोरोनाको वैश्विक महामारी आगामी जून महिनासम्म रहने अनुमान गरेका छन् । यो भाइरसको मृत्युदर इटालीमा ५ प्रतिशत तथा दक्षिण कोरियामा ०.६ प्रतिशत रहेको पाइएको छ । हाल विश्वको औसत मृत्युदर ३.५ प्रतिशत छ । संक्रमित र मृत्यु भएकाको संख्याका हिसाबले चीन पहिलो नम्बरमा भए पनि मृत्यु अनुपातका हिसाबले इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । इटालीका सेना प्रमुख पनि संक्रमित भएका छन् । इटाली र दक्षिण कोरिया दुवै देशमा संक्रमितको संख्या ७,००० कटेको छ र दक्षिण कोरियाका तुलनामा इटालीमा सात गुणा बढी संक्रमितको ज्यान गएको छ ।
दक्षिण कोरियाले प्रतिदिन १०,००० भन्दा बढीमा भाइरसको परीक्षण गरेर विश्वसामु नमुना पेस गरेको छ । उक्त देशको प्रयोगशालाको उत्कृष्ट क्षमताको विश्वभर प्रशंसा भएको छ । कोरोना भाइरसबाट चौथो सबैभन्दा प्रभावित मुलुक इरान हो । त्यहाँ हालसम्म ६,५६६ जनामा संक्रमणको पुष्टि भएको छ र २३७ जनाले ज्यान गुमाएका छन् । इरानका उपराष्ट्रपति, उपस्वास्थ्यमन्त्री तथा सांसदहरू भाइरसको सिकार बनेका छन् र एक सांसदको ज्यानसमेत गएको छ ।
नेपाललाई तीनतिरबाट घेरेको भारतमा ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा जोखिम वृद्धि हुने भएकाले नेपालको ध्यान मूलतः भारततर्फै केन्द्रित हुनुपर्छ । नेपालमा अहिलेसम्म संक्रमण नदेखिनु सुखद भए पनि यसको सत्यता हाम्रा प्रयोगशाला लगायतको क्षमता र जाँच गर्ने प्रक्रियालाई विश्वसनीय बनाइराख्नु जरुरी छ ।
मानव–मानवबीच प्रसारण: कोरोना भाइरस संक्रमणपछि रुघाखोकीमा जस्तै लक्षण हुने भएकाले यसको रोकथाम र जाँचमा गम्भीर चुनौती थपिएको छ । यो भाइरस तीव्र गतिमा सर्ने खालको हुन्छ । संक्रमितको श्वास, खोकी र हाच्छ्युँबाट सर्न सक्छ । कोरोना भाइरस श्वास–प्रश्वास प्रणालीको तल्लो भाग (रुद्रघण्टीभन्दा मुनि) सम्म फैलिएमा निमोनिया लगायतको जटितलता उत्पन्न भई संक्रमितको अवस्था गम्भीर हुनसक्छ । यो भाइरस संक्रमितले खोक्दा र हाच्छ्युँ गर्दामात्रै सर्ने नभई नजिकैको सम्पर्क (जस्तै: छुँदा वा हात मिलाउँदा) पनि सर्न सक्छ । त्यस्तै भाइरस रहेको कुनै वस्तुलाई छोएको हात नधोई नाक, मुख र आँखा छुँदा पनि भाइरस सर्ने सम्भावना रहन्छ ।
विश्व स्वास्थ्य संगठनको चेतावनी: कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन नियमित रूपमा हात धुने, मास्क लगाउने र खोक्दा या हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने तथा मासु र अन्डा राम्ररी पकाएर मात्रै खाने गर्नुपर्छ । साथै रुघाखोकी लागेका र श्वास–प्रश्वास समस्या भएका व्यक्तिहरूसँग सम्पर्कमा नआउनु बेस हुन्छ । भीडभाड, सभा–सम्मेलन र भोजभतेरमा सहभागी नहुनु नै सर्वथा उचित हुन्छ । श्रेष्ठ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक हुन् । कान्तिपुर दैनिक











