काठमाडौँ । समाजवादी पार्टीकी सांसद रेणु यादवले कोरोना संक्रमणको खतरा संसद भित्रै रहेको बताएकि छिन् । यसको खतरा विश्वव्यापी बढ्दै गएको र नेपालले पनि त्यसमा ठूलो सतर्कता अपनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउँदै संसदमा फोहोर भएका कारण नेपालको संसदमै यसको खतरा रहेको बताएकी हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले सरकारले बारम्बार हात धुन मात्र विज्ञापनमात्र गरिरहेको तर सांसद बस्ने कुर्सीमा लगाइएका खोल फोहोर भएको नदेखेको बताइन् । उनले संसदमा यो हालत हुँदा पनि सफाइमा ध्यान नदिएको आरोप लगाइन् ।
सांसद यादवले भनिन्– कोरोनाको संक्रमणबाट बच्न बारम्बार हात धुनु भनेर विज्ञापन गर्ने सरकार यी संसलभित्रै यस्तो फोहोर छ, यसलाई छोएपछि बारम्बार हात धुन कहाँ जाने ?’ आफू बसेको कुर्सीको खोज हातमा लिएर देखाउँदै उनले भनिन् ।
उनले कोरोना संक्रमण भित्रिन नदिन सरकारले सतर्कता नअपनाएको आरोपसमेत लगाइन् । भीडभाडयुक्त क्षेत्र बन्द गर्नुपर्ने, शैक्षिक संस्था बन्द गर्नुपर्ने जस्ता विषयमा सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो ।