२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको रोकथामका लागि सरकारको पूर्व तयारी नपुगेको सांसदहरु आरोप



अ+ अ-

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड—१९) रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् ।

संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले सरकारी व्यवस्थापन नपुगेको बताउनुभयो । विश्वलाई त्रस्त बनाएको कोरोना नेपाल प्रवेश गरे नियन्त्रण गर्न गाह्रो हुने उल्लेख गर्दै उहाँले बाहिरबाट आउने जुनसुकै नागरिकलाई पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । सरकारले पूर्व सतर्कताका लागि विदेशबाट आउने र विदेश जाने नेपालीलाई तत्काल रोक्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले रोकथामका लागि सरकारले गरेको प्रयास पर्याप्त नभएको बताउनुभयो । जनतालाई सही सूचना दिन एकद्वार प्रणालीको विकास गर्न नसकेको, कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न नसकेको तथा आइसोलेसन र क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले रोकथाम र संक्रमण भइहाल्यो भने उपचारका लागि गर्नुपर्ने तयारीमा सरकार पछाडी रहेको बताउनुभयो । जनताले उपभोग्य वस्तु, औषधि उपचारका क्षेत्रमा चाहिने उपकरणहरुको अभाव रहेकोले व्यवस्थापनका लागि सरकार समयमै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले जुनतरिकाले तयारी हुनुपर्ने थियो त्यो हुन नसकेको बताउनुभयो । खुला सीमाना चीन र भारतजस्ता धेरै जनसंख्या भएको देशको बीचमा रहेको नेपालमा जति सतर्कता अपनाउनुपर्ने थियो त्यो हुन नसकेको उहाँले बताउनुभयो । समाजवादी पार्टी संघीय परिषद अध्यक्ष समेत रहनुभएका डा. भट्टराईले सरकारले सकारात्मक प्रयत्न गरिरहेपनि जनतालाई आतंकिन नभएर सजग हुनुपर्छ भन्ने कुरा बुझाउन नसकेको बताउनुभयो ।

समाजवादी पार्टीका अर्का सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रिय समस्या आउँदा मिलेर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको क्षेत्र घोषणा गरेपनि आवश्यक जनशक्ति र अन्य व्यवस्थापन तर्फ ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइसको संक्रमण अहिले विश्वभरी फैलिएको छ । नेपालमा यसको संक्रमण नदेखिएपनि जनतामा सन्त्रास भने फैलिएको छ । बजारमा उपभोग्य सामान पाउन छोडेको मूल्य बढेको गुनासोहरु जनमानसबाट आइरहेका छन् । तत्कालको अवस्थामा कालोबजारी हुन नदिने र ६ महिनासम्म कुनै पनि खाद्यान्न तथा औषधिको अभाव नहुने सरकारले बताउँदै आएको छ ।