१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको ओलीको आरोप



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाएको आरोप लगाउनु भएको छ ।

गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले जेन(जीहरूका नाममा कलाविहीन नाटक चलाइएको बताउनु भयो ।

उहाँले  सरकारमा रहेकाहरूले नै जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको आरोप समेत लगाउनु भयो । उहाँले सरकारमा रहेकाहरुले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको आरोप लगाउनु भयो ।

ओलीले अहिले पनि जेन-जी भनेर १०र२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो- “उनीहरूमा आवेश र उत्तेजनामात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ ।”

ओलीले अवकाशलगत्तै निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको विषयमा पनि आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ । आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको ? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ?’

उहाँले भन्नुभयो -“यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेन-जीको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ । जेन-जीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ । मलाई थाहा छ त्यो जेन-जीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ ।

ओलीले प्रतिनिधिसभा अविलम्व पुनस्स्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताउनु भयो ।