२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव: सुनसान बन्दै लुम्बिनी



अ+ अ-

भैरहवा । विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले बुद्ध जन्मस्थल लुम्बिनी सुनसान बनेको छ । पर्यटक आगमनमा ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही समय अघिसम्म राम्रै चहलपहल रहेको लुम्बिनीमा हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एन्ड रेस्टुरेन्टका सञ्चालक बाबुराम पराजुलीले बताए । केही भारतीय र श्रीलङ्कनहरू फाट्टफुट्ट आएका छन्, उनीहरू पनि एकछिन घुमेर फर्किहाल्छन्, उनले भने, ‘दुई–तीन हप्तादेखि अरू विदेशी त देखि नै छाडे । ’ विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोनाको सङ्क्रमणका कारण मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी सुनसान भएको हो ।

नेपाल आउन खोजेका धेरै पर्यटकले होटलको बुकिङ पनि रद्द गराएका छन् । लुम्बिनीका होटलका ७० प्रतिशत कोठाको बुकिङ रद्द भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । “पाहुनाहरू आउनै छोडे, बुकिङ भएका कोठा पनि धमाधम रद्द भएका छन्”–उनले भने, “अन्य मुलुकमा फैलिएको कोरोनाको कारण ७० प्रतिशत बुकिङ रद्द भइसकेको छ । ” चैतसम्म लुम्बिनी घुम्न उपयुक्त मौसम मानिन्थ्यो तर सिजनकै समयमा पर्यटक आगमन घटेको श्रेष्ठको भनाइ छ । केही वर्षयता लुम्बिनी आउने चिनियाँ पर्यटक बढेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट सङ्क्रमण सुरु भएपछि पहिले चिनियाँ पर्यटक घटेको र अरू मुलुकका पर्यटक समेत आउन छोडेको बताए ।

चिनियाँ पर्यटक लगभग शून्यमा पुग्न लागे भन्दा पनि हुन्छ, अन्य पर्यटकको सङ्ख्या पनि अत्यन्तै न्युन भएको छ, उनले भने । यो समयमा लुम्बिनीमा श्रीलङ्का, म्यानमार र थाइल्यान्डका पर्यटक आउने गर्दथे । एक महिनायता कमी आएको सूचना अधिकारी बस्नेतको भनाइ छ । जनवरीमा अघिल्लो वर्ष र अहिलेको सङ्ख्या बराबर छ, फेब्रुअरीमा कमी आएको छ, उनले भने, मार्चमा धेरै नै कमी आउने सङ्केत देखिएको छ । प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको थियो भने सङ्घ सरकारको आह्वानमा नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भएको थियो तर कोरोनाको सम्भावित जोखिमका कारण सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ ।

एक महिना जति बाँकी रहेको लुम्बिनी भ्रमण वर्षका कार्यक्रम पनि निश्क्रिय भएका छन् । कोरोना सङ्क्रमणका कारण विभिन्न मुलुकबीच आवतजावत पनि बन्द भएको छ । पर्यटक नआउँदा व्यवसाय धान्न समस्या भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष श्रेष्ठले गुनासो गरे । कामदारको तलब कसरी दिने, बैङ्कको ब्याज कसरी तिर्ने भन्ने समस्या छ, उनले भने । लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन पनि घटेको लुम्बिनी विकास कोषले जनाएको छ । गोरखापत्र दैनिक