५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

जेनजी आन्दोलनका अमर प्रहरी रायः श्रीमतिलाई सटरभित्र सुरक्षित छु कुनै ‘तनाव’ नलिउ भनेका थिए

जेनजी आन्दोलनका अमर प्रहरी रायः श्रीमतिलाई सटरभित्र सुरक्षित छु कुनै ‘तनाव’ नलिउ भनेका थिए
अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति ! मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहनुभएकी उहाँले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु भएको १२ः०० बजेतिर मोटरसाइकल जलेको र आफू सटरभित्र सुरक्षित रहेकाले कुनै ‘तनाव’ नलिउ भनेर आश्वस्त पार्नुभयो ।

जापानको एक रेष्टुराँमा कार्यरत मङ्गलाले ‘ड्युटी’मा रहँदा पनि नेपालको अवस्थाबारे छिनछिनमा जानकारी लिइराख्नुभएको थियो । आन्दोलनले उग्ररूप लिइरहँदा उहाँको मन स्थिर हुन सकिरहेको थिएन । मङ्गलाले आफ्नो ‘ड्युटी’ सकेपछि पटक–पटक फोन गर्नुभयो तर उठेन । निरन्तरको प्रयासपछि एक हवल्दारले मिलनको निधन भएको कुरा सुनाउनुभयो ।

जेनजी आन्दोलनमा भएको घुसपैठको निशानामा सहायक निरीक्षक राय र जवान उत्तम थापा पर्नुभयो । उहाँ र जवान उत्तमलाई आन्दोलनकारी सडकमा ल्याएर कुटीकुटी पासविक तबरले हत्या गरियो ।

घटनाको वास्तविकता थाहा पाएपछि मङ्गलाले केही सोच्न सक्ने अवस्था थिएन । त्यसमाथि आन्दोलनकारीले वीभत्स तरिकाले मारेको थाहा पाउँदा मुटु भक्कानिन पुग्यो । धरती नै भासिएजस्तै भयो । मुटु छियाँछियाँ हुन पुग्यो । श्रीमान्लाई अन्तिम बिदाइ गर्न उहाँ भदौ २६ गते काजक्रियाका लागि काठमाडौँ आइपुग्नुभयो ।

यही वर्ष जापान जाने तयारीमा थिए मिलन

तीन जना दाजुभाइमध्ये कान्छो छोरा थिए मिलन । सानैमा बाआमा बितेपछि हजुरआमा र काकाको रेखदेखमा हुर्किनुभएका उहाँले सानैदेखि हन्डर खाएर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । सिन्धुलीको दूधौली–८ खोरभञ्जाङका मिलन २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरी भरतपुरमा तालिम सकिएपछि पहिलो पोष्टिङ जलेश्वर, ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज सरुवा हुनुभएको थियो ।

त्यसअघि काठमाडौँमा सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने सिलसिलामा धादिङ छत्र देउरालीकी मङ्गलासँग चिनजान भयो । दुवैको उमेर एउटै, काम एउटै । त्यही चिनजानले प्रेम २०८० फागुन २१ विवाहमा परिणत भयो ।

मङ्गला सम्झिनुहुन्छ, “लामो समयसम्म प्रेममा रहेर विवाह गरेका कारण एक–अर्कालाई नाम नै लिएर बोलाउँथ्यौँ । उसले पनि यही वर्षभित्रै प्रहरीको जागिर छोडेर जापान जाने सोच बनाएको थियो ।” करिब रु १२ लाख खर्च गरेर मङ्गला गत वैशाखमा मात्रै रोजगारीका सिलसिलामा जापान जानुभएको थियो ।

पढाइमा अब्बल, क्रिकेट र खानपिनमा सौखिन । काका केशव, हजुरबा र हजुरआमाको छत्रछायाँमा हुर्किनुभएका मिलन सबैको प्यारो थिए । परिवारको कान्छो सदस्य गुमाएपछि उमेरले पाका भइसकेका हजुरआमा र बाका आँखा ओभाना हुन सकेका छैनन् । “सानैमा बाआमा बिते, हामीले हुर्कायौँ । संरक्षकको रूपमा आफ्नै सन्तानसरह हुर्काएको थियौँ । उसको सम्झना त सधैँ मनमा रहिरहन्छ”, काका केशव मिलनलाई स्मरण गर्नुहुन्छ ।

जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका मिलनलाई सरकारले कात्तिक १७ गते सहिद घोषणा गरी अमर प्रहरीको सम्मान प्रदान गरेको छ । सहिद परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएबमोजिमको रु १५ लाख परिवारले प्राप्त गरिसकेको छ । साथै नेपाल प्रहरीले अमर प्रहरी मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउने छ ।

प्रहरी नायब निरीक्षकसमेत रहेका माइला दाजु हरिबाबु मिलनलाई आफ्नो भाइ मात्र होइन, एक असाध्यै मिल्ने साथीजस्तै ठान्दथे । कलिलैमा भाइ गुमाउँदा उहाँ विक्षिप्तजस्तै हुनुहुन्छ । भन्नुहुन्छ, “मैले भाइमात्र होइन असल साथी पनि गुमाएँ । सबै कामसँगै गर्ने । पेसा पनि एउटै रोजेका थियौँ । मेरो मुटुको टुक्रा थियो ऊ ।”

विद्यालयस्तरको पढाइमा पनि कक्षामा सधैँ पहिलो÷दोस्रो हुँदै आएका मिलनले क्याम्पसको पढाइ भने चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेज र बौद्धस्थित अरुणिमामा अध्ययन गरेको स्मरण गर्दै दाजु हरिबाबु भन्नुहुन्छ, “भाइलाइ असइमा भर्नाका लागि मैले पढेका किताब दिएँ, दिमाग तेजिलो थियो, दोस्रो पटकमा सफल भयो, साथीभाइसँग उ छिटो घुलमिल हुन्थ्यो ।”

प्रहरी सङ्गठनभित्र पनि एक इमान्दार, अनुशासित र असल चरित्रको परिचय बनाएका मिलन दिएको जिम्मेवारी ठीक ढङ्गले समयमै फत्ते गर्ने कर्तव्यनिष्ठ भएकाले हाकिमहरूको रोजाइमा पर्दैआउनुभएको थियो । भदौ २४ गते महाराजगञ्जमा आन्दोलनकारीबाट भाइको ज्यान लिइएको घटना सुन्न पर्दा सपनाजस्तै भएको बताउँदै नुवाकोटमा कार्यरत हरिबाबु भन्नुहुन्छ, “मेरो जीवनको साह्रै दुःखद् दिनका रूपमा रह्यो भदौ २४ १”

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आक्रमणबाट तीन प्रहरीको ज्यान गएको थियो । सो दिन प्रहरी जवान मिलनका साथै कास्कीका रूपा गाउँपालिका–५ का अमृत गुरुङ, दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापाको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको थियो । नारायण न्यौपाने/रासस