काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे तीव्र मतभेद भइरहेका बेला संस्थापन पक्षका नेताहरू पनि चुनावअघि महाधिवेशन गरिनुपर्छ भन्ने अडानमा खुलेर उत्रिएका हुन्।
केन्द्रीय सदस्यहरूले सोमबार पार्टी कार्यालय सानेपामा पुगेर ६ बुँदे मागपत्र बुझाएका छन्। ध्यानाकर्षणपत्रमा १५औँ महाधिवेशनको तयारीका लागि पहिला क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्य टुंग्याउनुपर्ने उल्लेख छ। यसका लागि निश्चित समयसीमा तोकेर कार्यान्वयन गर्न नेतृत्वलाई सुझाव दिएका छन्।
यस्तै, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई प्रभावकारी बनाउन पार्टी विधानअनुसार २०८२ साल मंसिरभित्र १५औँ महाधिवेशन सुरु गरी तहगत अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तयार गरी लागू गर्न माग गरिएको छ।
नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आग्रहलाई ध्यानमा राख्दै युवा पुस्ताको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित हुने गरी विधानसंशोधन गर्नुपर्ने माग पनि अघि सारेका छन्। साथै आन्तरिक निर्वाचन समितिले अझै पूर्णता नपाएकाले तत्काल समिति विस्तार गरी पूर्णता दिनुपर्ने पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ।
CamScanner 14-11-2025 1219_251114_132303










