२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सीमानाका बन्द गर्ने, नेपालीको आवागमनमा के होला ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो । नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो । नेपाली नागरिकको हकमा यसले फरक पर्दैन । यो नियम कार्यान्वयनका क्रममा आइतबारदेखि आउने जटिलतालाई छलफलका आधारमा समाधान गर्ने बचन भारतले नेपाली कूटनीतिक च्यानललाई जानकारी दिएको छ ।

भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ, ‘नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित (बनबासा, सुनौली, रक्सौल र रानीगन्ज) नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन । यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । भारतले यो जानकारी कूटनीतिक च्यानलमार्फत नेपाललाई दिइसकेको पनि बुझिएको छ ।

शुक्रबार जारी सूचना बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन हुनुपर्नेछ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ । कूटनीतिक स्रोतले भन्यो, ‘नेपाली र भारतीय नागरिकलाई एकअर्को देशमा आवतजावतका लागि अहिले चार नाका तोकिएको छ । थप दुई नाकाका लागि नेपालले पहल गरेको छ । दुवै देशका नागरिकले परिचयपत्र बोक्नुपर्ने छ र सीमानाकामा अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्नेछ ।

भारतले बिहीबार सबै पर्यटक भिसा बन्द गरेको थियो भने नेपालीहरूको आवतजावत यथावत् हुने स्पष्ट पारेको थियो । नेपाल–भारत नाकाबाट विदेशी नागरिकको प्रवेश बन्द गरेको तथा ३ फागुनपछि इटाली, इरान, चीन, दक्षिण कोरिया, स्पेन, फ्रान्स र जर्मनी पुगेर भारत फर्केकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि सूचनामा उल्लेख छ । यी देशमा कोरोना भाइरस फैलिएको भन्दै भारतले आवतजावत र उडान बन्द गरिसकेको छ ।

आसाम, बिहार, मेघालय, मिजोरम, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल राज्यसँग नेपाल, भुटान, बंगलादेश र म्यानमार जोडिएका छन् । बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमन भारतले बन्द गर्नेछ । भारतले स्थलमार्गका अध्यागमनबाट सबै भिसा (नेपाली र भुटानीबाहेकका नागरिकलाई) बन्द गरिसकेको छ । सीमावर्ती हाटबजारमा विदेशीहरूको आवागमनलाई भारतले रोक लगाएको सूचनामा उल्लेख छ ।

देशभरिका जेलमा सतर्कता, भेटघाटमा कडाइ
कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ । जेलभित्र एकजनालाई संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले भेटघाटमा कडाइ गरिएको छ । कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ ।

‘तत्कालका लागि कैदीरबन्दीहरूको सरुवा रोकेका छौँ,’ कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, ‘भेटघाटमा पनि कडाइ गरिएको छ ।’ कैदीरबन्दीलाई भेट्न जाने उनीहरूका आफन्तहरूलाई मास्क तथा पन्जा प्रयोग गर्न लगाइने उनले बताए ।

अत्यावश्यक कामबाहेक भेटघाटमा जेल प्रशासनले कडाइ गरेको छ । जेलहरूमा थर्मोमिटरगन तथा स्यानिटाइजरलगायत स्रोत र साधनको भने अभाव रहेको निमित्त महानिर्देशक लामिछानेले बताए । भाइरस संक्रमणको जोखिमका कारण इरानमा केही समयका लागि कैदीहरूलाई रिहा गरिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको र दुवै छिमेकी देशमा संक्रमण भएकाले नेपाल सरकारले समेत यसविरुद्ध सतर्कता बढाएको हो ।

कोरोनाविरुद्ध सार्क देशका नेतृत्व मिलौँ : मोदी
भारतको प्रस्तावमा नेपालको स्वागत

प्रधानमन्त्री केपी ओलीले सार्क मुलुक मिलेर कोरोना भाइरसविरूद्ध रणनीति बनाउने मोदीको प्रस्तावको स्वागत गरेका छन् । मोदीको ट्विटको जवाफमा ओलीले ट्विट गरेका छन् । ‘मेरो सरकार हाम्रा जनतालाई प्राणघातक यो रोगबाट बचाउन सार्क सदस्य मुलुकसित नजिकबाट काम गर्न तयार छ,’ उनले लेखेका छन् । सार्कका ६ वटै राष्ट्रले मोदीको प्रस्तावको स्वागत गरेका छन् ।

पाकिस्तानबाहेक सार्कका सदस्यलाई भारतको लिखित प्रस्ताव
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशका नेतृत्वसँग मिलेर कोरोना भाइरसविरुद्ध लड्न कडा रणनीति बनाउन प्रस्ताव गरेका छन् । लामो समयदेखि सार्कबारे मौन बस्दै आएका मोदीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रस्ताव गरेका हुन् । भारतले सार्कको अध्यक्ष राष्ट्र नेपाललाई औपचारिक कूटनीतिक च्यानलबाट पनि प्रस्ताव पठाएको छ ।

सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, मालदिभ्स र अफगानिस्तान सदस्य छन् । ‘सार्कका देश मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्छ भन्ने प्रस्ताव भारतले औपचारिक कूटनीतिक च्यानलबाट पनि पठाएको छ, यसबारेमा छलफल गरेर हामी उपयुक्त जवाफ पठाउँछौँ, त्यसपछि प्रतिक्रिया पनि दिन्छौँ,’ प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने । यो प्रस्ताव औचित्यपूर्ण रहेकोरनरहेको विषयमा छलफलपछि मात्रै बोल्ने उनको भनाइ छ ।

भारत सरकारले पठाएको प्रस्तावमा र मोदीले सार्वजनिक गरेको ट्विटमा विश्वको जनसंख्याको उल्लेख्य संख्या रहेको दक्षिण एसियाका जनताको स्वास्थ्य सुनिश्चित गर्न कुनै पनि कसर बाँकी राख्न नहुनेसमेत बताएका छन् । ‘सार्क राष्ट्रहरूको नेतृत्वले कोरोना भाइरससँग लड्न कडा रणनीति तयार गर्न म प्रस्ताव गर्न चाहन्छु,’ मोदीले ट्विटमा भनेका छन्, ‘नागरिकहरूलाई स्वस्थ राख्नका लागि हामी भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौँ । साथै, हामी स्वस्थताका लागि योगदान गर्न दुनियाँसामु एक उदाहरण प्रस्तुत गर्न सक्छौँ ।’

मोदीले सार्कका सदस्य मुलुकको नाम लिएका छैनन् । नेपाल सार्कको अध्यक्ष मुलुक हो । कूटनीतिक स्रोतका अनुसार भारतले पाकिस्तानबाहेक सार्कका बाँकी ६ सदस्यलाई औपचारिक कूटनीतिक च्यानलबाट पत्र पठाएको छ । भारत र पाकिस्तान विवादका कारण तीन वर्षअघि सम्पन्न हुनुपर्ने सार्क शिखर सम्मेलन अझै अनिश्चित छ ।

पृथ्वीले यतिवेला कोरोना भाइरससँग संघर्ष गरिरहेको र संसारका सरकार र जनताले यसबाट बच्न कोसिस गरिरहेको सन्दर्भमा दक्षिण एसियाले पनि प्रयासमा कमी आउन दिन नहुने मोदीको तर्क छ । ‘दक्षिण एसिया विश्वव्यापी जनसंख्याको महत्वपूर्ण हिस्साको घर हो, हाम्रा जनताको स्वास्थ्यको सुनिश्चित गर्न हामीले कुनै पनि कसर बाँकी राख्नुहुँदैन,’ मोदीले भनेका छन् । भारतसँग चीन, म्यानमार, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, नेपाल, भुटान भौगोलिक रूपमा सीमा जोडिएका छन् । सामुद्रिक रूपमा श्रीलंका र मालदिभ्स पनि भारतसँग जोडिएका छन् ।

भारतको रक्षा मन्त्रालयमातहतको थिंकट्यांक मनोहर पारिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसका नेपालविज्ञ डा. निहार नायकले मोदीको प्रस्तावलाई सार्कका सदस्य देशले स्वाभाविक रूपमा लिनुपर्ने बताए । ‘सार्कका सदस्य देशहरूसँग भारतको सीमा जोडिएका कारण क्षेत्रीय सहकार्यविना कोरोना नियन्त्रण गर्न कुनै पनि देशलाई अप्ठ्यारो हुन्छ ।

हाम्रा प्रधानमन्त्रीको प्रस्तावलाई यही ढंगले बुझ्नुपर्छ,’ नायकले दिल्लीबाट टेलिफोनमा भने, ‘यो प्रस्तावलाई सार्क माइनस पाकिस्तानका रूपमा बुझ्नुपर्छ । भारत सार्कको विपक्षमा छैन, भारत पाकिस्तानको व्यवहारप्रति मात्रै रुष्ट हो ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै