२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुरौनीबाट आत्मनिर्भर



अ+ अ-

नारायणगढ । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् । पोखरेलले महोत्सवको एक स्टलमार्फत कुरौनी, खिर, आइसक्रिम, मोही, पनिर र च्याउको पकौडाको स्वाद महोत्सव अवलोकन गर्न आएका हजारौँ दर्शक तथा ग्राहकलाई चखाइसक्नुभएको छ ।

नवलपुरको कावासोती निवासी पोखरेलले मेला–महोत्सवमा कुरौनीलगायतका परिकार बिक्री गर्न थालेको १८ वर्ष भएको बताउनुभयो । उहाँका अनुसार सुरुमा आइसक्रिम मात्र बिक्री गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको थियो । तर, जाडोयाममा आइसक्रिमको माग घट्ने र कुरौनीको माग बढ्ने देखिएपछि उहाँले कुरौनीलाई नै मुख्य व्यवसायका रूपमा अघि बढाउनुभएको हो ।

उहाँले भन्नुभयो, “मेला र महोत्सवमा कुरौनीको बिक्री बढी हुन्छ, घरको पसलमा त्यति हुँदैन ।” सुरुवाती समयमा उहाँले हातले घोटेर कुरौनी बनाउनुहुन्थ्यो भने हाल मेसिन प्रयोग गर्न थाल्नुभएको छ । उहाँले भन्नुभयो, “मेसिन आएपछि धेरै सजिलो भएको छ, आफैं घुम्ने मेसिनले दूध घोट्छ, तर त्यसको प्रयोगमा सीप र सावधानी आवश्यक हुन्छ ।” कुरौनीमा चिनी अत्यन्तै थोरै मात्र प्रयोग गरिने उहाँको भनाइ छ । उहाँका अनुसार दूध मात्र हुँदा स्वाद अलि नुनिलो हुने भएकाले थोरै चिनी हालिन्छ । “हामीले बिस्कुट, पाउरोटी वा अन्य कुनै वस्तु मिसाउने गरेका छैनौं”, उहाँले स्पष्ट पार्नुभयो ।

पोखरेलका अनुसार कुरौनीका मुख्य ग्राहक उमेर पुगेका व्यक्ति हुन् । “केटाकेटीहरूले खासै चिन्दैनन्”, उहाँले भन्नुभयो । दूधको आपूर्ति उहाँले भरतपुरस्थित अन्नपूर्ण डेरीसँग सम्झौतामा गरेर गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “एकै स्थानबाट दूध ल्याउँदा गुणस्तरमा एकरूपता रहन्छ, हाल म महोत्सवका लागि मात्र दैनिक करिब १०० लिटर दूध ल्याउँछु, आवश्यकताअनुसार थप पनि गर्छु ।”

पोखरेलका अनुसार कुरौनी पुरानो परिकार हो, जुन परम्परागत रूपमा विवाहपछिको कोसेली वा पहिलो दसैंमा टीका थाप्न लैजाने मिष्ठान्नका रूपमा प्रचलित रहँदै आएको छ । उहाँले विवाह, चाडपर्व तथा कोसेलीका लागि अहिले पनि कुरौनीको अर्डर आउने बताउनुभयो । उहाँले स्मरण गर्नुभयो, “जाडो यामको महोत्सवमा आइसक्रिम बिक्री गर्दा चितवन टाँडीका एक व्यापारी ९गौतम दाई०ले कुरौनी बेचिरहेको देखेँ, त्यसपछि मैले पनि सिकेर सुरु गरेँ, जाडोमा आइसक्रिमभन्दा कुरौनीको माग धेरै थियो ।”

हाल उहाँले दैनिक करिब ५० किलो कुरौनी बिक्री गर्दै आउनुभएको छ । एक किलो कुरौनीको खुद्रा मूल्य रु एक हजार रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आठ लिटर दूधबाट एकदेखि डेढ किलोसम्म कुरौनी तयार हुने र भैंसीको बाक्लो दूध प्रयोग गर्दा दुई किलोसम्म पनि बस्ने बताउनुभयो ।

पोखरेलले भन्नुभयो, “हालका पुस्ताले कुरौनी नचिनेका हुन्, कतिपयलाई त दूध कहाँबाट आउँछ भन्ने पनि थाहा छैन । कुरौनी पौष्टिक र शुद्ध परिकार भएकाले यसको प्रवद्र्धन गर्न आवश्यक छ ।” उहाँका अनुसार यो परिकारलाई आधुनिक प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउन सके युवापुस्तामाझ पनि लोकप्रिय बनाउन सकिनेछ ।

कुरौनी बिक्रीमै आत्मनिर्भर बनेका पोखरेलले यही व्यवसायबाट परिवारको जीविका सञ्चालन गर्दै केही सम्पत्तिसमेत जोड्नुभएको छ । उहाँका अनुसार यस पेशाबाट वार्षिक करिब रु आठदेखि दश लाखसम्म बचत गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यो धेरै आम्दानी हुने पेशा होइन, तर मन लगाएर परिश्रम गरे सजिलो हुन्छ, जाँगर र सीप चाहिन्छ ।”

उहाँका अनुसार नेपालमै केही गर्न चाहने युवाले पनि उपयुक्त स्थान छनोट गरी प्रविधिक सीपको प्रयोगबाट यो पेशा अगाल्न सक्छन् । उहाँले भन्नुभयो, “मेला–महोत्सव र बजार क्षेत्र यो व्यवसायका लागि उपयुक्त स्थान हुन्, तर ग्राहकलाई सन्तुष्ट पार्ने खालको स्वाद दिन सक्नुपर्छ । रासस