काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भोगचलन गरिरहेको नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । सूचना निकालेको सात दिन बितेलगत्तै महानगरले डोजर लगाएर संरचनाहरु भत्काइदिएको हो ।
महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।
महानगरले नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दै आए पनि कम्पनीले अटेर गर्दै आएको थियो । स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।
लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५मा सम्झौता भएको थियो । १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा छाडेको थिएन ।
सम्झौता पत्र अनुसारको अवधि समाप्त नभएको भन्दै कम्पनीले बखेडा झिकेपछि विवाद सिर्जना भएको थियो ।










