१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अनिर्णयका बीच खड्कियो देउवाको अभाव



फाईल फोटो
अ+ अ-

काठमाडौँ: गएको महिना दिन भन्दा लामो समयदेखि नेपाली कांग्रेसका तमासा चलिरहेको छ । केन्द्रीय समितिको बैठक सुरु भएको महिना दिनभन्दा लामो समय भयो, तर बैठक अनिर्णित छ । आफ्नै पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयले पार्टीमा विवाद बढ्दो छ तर पार्टीको केन्द्रीय समितिले कुनै निकास निकाल्न सकेको छैन ।

देश अहिले इतिहासकै सबैभन्दा असहज मात्र होइन कि संवेदनशील अवस्थामा छ । त्यसैले कांग्रेसजस्तो देशको जेठो प्रजातान्त्रिक पार्टीको यो बैठक पनि सहज अवस्थाको अर्थात् सामान्य परिस्थितिको नभएर अप्ठ्यारै अवस्थाको हो । त्यसकारण यो बैठक अरु बेलाको जस्तो अर्थात् सामान्य समयको जस्तो होइन, त्यो भन्दा बढी जिम्मेवार र महत्वपूर्ण छ ।

तर यतिखेर मुलुक चरम सङ्कटमा छ कांग्रेसको उपस्थिति देखिएन । जेनजी आन्दोलनका कारण कांग्रेस एमालेको सरकार अपदस्थ मात्र भएन, देशभर आगजनी भयो र संविधानभन्दा बाहिरबाट सरकार बनेको छ । संसद विघटन त आन्दोलनकारीहरुको पहिलो शर्त नै भयो ।

गाँठो कांग्रेसको आफ्नै महाधिवेशनको विषयमा गएर परेको छ । दुई जना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अन्तरिम नाम दिइएको सरकारले आगामी फागनु २१ गते गर्न लागेको चुनाव अगावै पार्टीको महाधिवेशन गर्नुपर्छ भन्छन् भने अरुले त्यसपछि गर्नुपर्ने तर्क राखेका छन् ।

संस्थापन इतर पक्षको नेतृत्व गरिरहेको भनिएका डा शेखर कोइरालाले भने विशेष महाधिवेशन नगर्ने नियमित गर्ने मात्र भनेका छन् । उनले चुनाव अघि र पछिको कुरा भन्दा पनि नियमित भनेर भन्ने गरेका छन् । तर उनी दुई महामन्त्रीको विशेष महाधिवेशनको पक्षमा भने छैनन् ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश ठूलो संकटमा फसेको छ । देश एक किसीमले भन्दा राज्यविहीनताको अवस्था पुगेको छ । किनभने वर्तमान सरकारलाई न संविधानले चिन्छ र नत हिजो विघटन नहुँदैको संसदले चिन्दथ्यो । आवश्यकताको सिद्धान्त अनुसार बनेको सरकारलाई अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओली र उनको पार्टीले नचिन्ने तर्क गरिरहेको छ । यो सरकारले गरेको निर्वाचनमा पनि सहभागी नहुने एमालेको तर्क छ ।

तर कांग्रेस बीचमा छ । निर्वाचनको वातावरण भयो भने सहभागी हुने जस्तो तर्कमा कांग्रेस रहेको छ । तर यता पार्टीभित्रै यस्तो विवाद छकि चुनाव भन्दा पनि महाधिवेशन कहिले हुने भन्ने चासोमा दुई महामन्त्री देखिएका छन् । जसका कारण कांग्रेस अनिर्णयको बन्दी भएको देखिएको छ ।

बरु चुनाव आउला तर कांग्रेसको निर्णय आसन्न चुनाव भन्दा अघि आउने देखिएको छैन । पार्टी सभापति शेरबहादुर देउवालाई तत्कालै नेतृत्व छोड्न भनियो, दबाब पनि दिइयो । उनले पार्टीको विधान र विधि बमोजिम नै उपाध्य पूर्णबहादुर खड्कालाई सहजै कार्यबाहक तोकिदिए र उपचारका लागि सिंगापुर लागे ।

देउवा अघिल्लो सरकारमा थिएनन्, सत्तारुढ दलका नेता मात्र थिए । तर पनि उनीमाथि जेनजीहरुले सांघातिक हमला नै गरेर घाइते बनाएका थिए । त्यसैले उपचारका लागि उनी आफ्नी श्रीमती तथा पूर्व परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहित सिंगापुर पुगे ।

उनले आन्दोलन तथा आफ्नै पार्टीका महामन्त्रीद्धयको माग बमोजिम नै नेतृत्व छोडिदिएका थिए र समयानुकुल पार्टीलाई अघि बढाउन र सबैको सहमतिमा पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्न पनि जारी केन्द्रीय समितिको पहिलो दिनमै आग्रह गरेको थिए । त्यसपछि पार्टीको बैठक जारी छ तर पनि नत निर्वाचनका बारेमा कांग्रेसको कुनै औपचारिक निर्णय गरेको छ र नत पार्टीको महाधिवेशनका बारेमा निर्णय गर्न सकेको छ ।

उता अपदस्थ हुन पुगेका प्रधानमन्त्री केपी ओलीको पार्टी एमालेले संसद पुनस्र्थानको माग अघि सारिसकेको छ । यो सरकारले चुनाव गर्न नसक्ने र आफू चुनावमा जाँदा पनि नजाने उसले बताइरहेको छ । यस्तोे अवस्थामा पनि अरु दलहरु भने अनिर्णित छन् । चुनाव हुन्छ कसैले भन्दैनन् र चुनावमा जान सक्दैनौँ भन्न सकेका पनि छैनन् ।

यस्तो राष्ट्रिय सङ्कटका बेलामा नेतृत्व दिनुपर्ने कांग्रेस आफैँ अनिर्णित बन्नु राम्रो होइन । पार्टी सभापति देउवाले कार्यबाहक दिएर उपचारका लागि विदेश गएपछि पनि कांग्रेस आफ्नै पार्टीको महाधिवेशन कहिले भन्ने विवादबाट बाहिर निस्कन सकेको छैन ।

यो राष्ट्रिय एकता, सहमति र सहकार्य चाहिने बेला हो र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अवस्था पनि हो । तर यस्तो बेलामा कांग्रेस आफ्नै पार्टीभित्रको विवादबाट बाहिर निस्कन नसक्नु दुर्भाग्य हो ।

हिजोका दिनमा कांग्रेसले मुलुकको निकै अप्ठेरो अवस्थामा पनि निकास दिनेगरी देशलाई नेतृत्व प्रदान गरेको छ । यसरी विगतको गर्विलो इतिहासलाई बोध गरेर मुलुकलाई राष्ट्रिय सङ्कट परेका बेलामा निकासका लागि नेतृत्व दिनुपर्ने देशको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नै पार्टीभित्रको र त्यो पनि महिना दिन पछि कि अघि महाधिवेशन गर्ने भन्ने जस्तो सामान्य विवादमा अल्झिनुलाई सो पार्टीको असक्षमताका रुपमा व्याख्या गर्न थालिएको छ । मुलुकमा अप्ठेरो परेका बेला कांग्रेस पार्टी भने आफ्नै समस्याभित्र फसेको छ ।

पार्टीमा जहिले पनि सभापति देउवाले आलोचना नै खेप्नुपर्यो । त्यो पनि पार्टीबाहिरबाट भन्दा भित्रैबाट । पार्टीमा सहमति भएन, कुनै विषयमा विवाद भयो भने त्यसको अपजस सबै सभापति देउवामै आउँथ्यो । बैठक सकिनासाथै उनी विरुद्धको समाचार सबै मिडियामा छर्पष्टै आउँथ्यो । तर आज उनी छैनन् । उनले नेतृत्व छोडेर कार्यबाहक दिएका छन् ।

उनले सबैको सहमतिबाट अघि बढ्नु र मुलुकलाई संकट परेका बेला नेतृत्व पनि प्रदान गर्नु भन्ने पार्टी बैठकमा सार्वजनिक सन्देशसहित कार्यबाहक दिएका हुन् । यस्तो बेलामा न पूर्व माओवादी नेता प्रचण्डले नेतृत्व छोडेका छन् र नत केपी ओलीले नै । तर पनि देउवाले कुनै रिस राग या द्वेष विना नै जेनजी आन्दोलन समयको माग हो भनेर सहजै नेतृत्व हस्तान्तरण गरेका थिए ।

तर त्यस अनुरुप कांग्रेस पार्टीले निर्णय गर्न सकेको छैन । पार्टीकै बारेमा पनि कुनै निकास दिन सकेको छैन । चुनाव अघिकी पछि महाधिवेशन भन्ने बहस सुरु भएको महिना दिन भन्दा बढी भैसक्यो । यसो हेर्दा लाग्न बरु चुनाव अघि आउला तर कांग्रेसको निर्णय त्यस अघि आउने जस्तो देखिँदैन । यो अनिर्णयको बन्दी कहिलेसम्म भनेर पार्टीकै जिम्मेवार मानिसहरु पनि प्रश्न गरिरहेका छन् ।

कतिले पार्टीको यो हालत हुँदा सभापति देउवाको अभाव खड्किएको पनि बताइरहेका छन् । पार्टीका कतिपय केन्द्रीय सदस्यहरु नै यस्तो अवस्थामा पार्टीका सभापति देउवा भइदिएको भए यस्तो संकटको बेलामा पार्टी यस प्रकारको अनिर्णयको बन्दी बन्ने अवस्था आउने थिएन भनिरहेका छन् ।

उनीहरुको विचार अनुसार नै पार्टी अहिले अनिर्णयको बन्दी नै बनेको छ र कार्यकाहक सभापतिले कुनै निकास निकाल्न नसकेको अवस्था स्पष्ट देखिन्छ । यस्तो बेलामा पार्टीमा देउवाको अभाव खड्किएको देखिएको स्वयं सो पार्टीका केन्द्रीय नेताहरु नै बताइरहेका छन् ।