काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले जेन–जी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गर्नुभएको हो ।
जलाउनेहरुले नै देश चलाउने तमासा देखाईरहेको अध्यक्ष ओलीको भनाई थियो । उहाँले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने त्यसले चलाउने । यस्तो तमासा भईराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक एक फिट माथि बुरुक्क उफ्रिएकै थिए । अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरु देखिएका छन् । जो संविधानले मिल्दैमिल्दैन, हुँदैहुँदैन भन्छ । तिनै व्यक्तिहरु ।’
अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पार्नुभयो ।










