२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व गभर्नर नै अर्थमन्त्री हुदा पनि राष्ट्र बैंकले समयमै गभर्नर पाएन



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालको पदावधि आज सकिएको छ । तर नयाँ गभर्नर को हो भन्ने आजम्म नै अन्योल छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.नेपालको पाँच वर्षे कार्यकाल आजदेखि सकिएसँगै देशमा यो अन्योल भएको छ । आज बिहान बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा नेपालको अध्यक्षतामा सञ्चालक समितिको अन्तिम बैठक बस्यो ।

बैठकले विधिवत रूपमा गभर्नरलाई धन्यवाद सहित बिदाई गरेको छ । आजै बेलुकी राजधानीको एक पाँचतारे होटलमा गभर्नरको औपचारिक बिदाई कार्यक्रम समेत राखिएको छ । सो कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, कार्यकारी निर्देशक र निर्देशकहरूलाई मात्र निम्त्याइएको बुझिएको छ ।

सरकारले आजकासम्म नयाँ गभर्नर नियुक्त नगरेका कारण भोलिदेखि बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वतः कायम मुकायम गभर्नरको जिम्मेवारी पाउनेछन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ मा बैंकको वरिष्ठ डेपुटी गभर्नरलाई गभर्नरको कामकाज गर्नेगरी कायम मुकायम मुकरर गर्ने व्यवस्थाबमोजिम नै उनले उक्त जिम्मेवारी पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा गभर्नर नियुक्तिको सार्वजनिक सूचनाको व्यवस्था रहेको छ । विगतमा गभर्नर बनिसकेका युवराज खतिवडा यतिखेर अर्थमन्त्री छन् । त्यसैले पनि पहिले पहिले जस्तो गभर्नर नियुक्तिमा अन्योल नहुने र कानुनमा भएको व्यवस्थाबमोजिम बेलैमा गभर्नर नियुक्ति गर्ने सबैले आशा गरेका थिए । तर अहिले पनि त्यसो हुन सकेन ।

ऐनको सोही दफामा बहालवाला गभर्नरको पद रिक्त हुनभन्दा सामान्यतयाः एक महिना अगावै गभर्नरको पदमा ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था रहेपनि सरकारले ऐनको उक्त व्यवस्थाको पालना गर्नेतर्फ चासो देखाएको समेत पाइएन ।

वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वतः कायम मुकायम गभर्नरको जिम्मेवारी पाएपनि नियुक्तिका लागि भने शिवाकोटी, अर्थबिद् डा.गोबिन्दबहादुर थापा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष्य डा.मिनबहादुर श्रेष्ठले तिब्र रुपमा राजनीतिक लबिङ गरिरहेको बुझिएको छ । तर पनि उहाँहरुकै नियुक्ति होला भन्ने पनि निश्चित भने छैन ।