काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गस्थित व्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भइ समुद्घाटन गरिएको छ ।
छैटौं शताब्दीको ऐतिहासिक यो मन्दिरको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको थियो । मन्दिर उद्घाटनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले मन्दिर परिसरमा रहेका स्थानीयका घरहरु हटाएर पुनःनिर्माण गरिएको बताउनुभयो । उहाँ मन्दिरको पुरानो जग खोजेर निजी आवासहरु खालि गराएर मन्दिर निर्माण गरेको बताउँदै संस्कृति संरक्षण स्थानीय नागरिकको समेत विषेश सहयोग रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मन्दिर परिसरभित्र निजी व्यक्तिको घर परेको हो । हामीले मन्दिर बनाएको यो ठाउँमा कसैको जग्गा परिसकेको थिएन । हामीले जगसम्म खोजेर यो मन्दिर परिसर खालि गराएका हौं । त्यसकारण मन्दिर निर्माणमा केही पनि समस्या परेन । हाम्रा छिमेकीहरुले पनि साथ दिनुभयो । अब यसको संरक्षण साथै निरन्तर पूजाको लागि पनि आवश्यक काम गरेर अगाडि बढ्छौं ।’
मन्दिर उद्घाटन कार्यक्रममा महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।










