१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशीला सरकार : न जेन-जीको हुन सक्यो, नत दलकै



अ+ अ-

काठमाडौं । कसैले प्रधानमन्त्री सुशीला कार्कीको यो सरकार कसको हो भनेर प्रश्न गर्यो भने त्यसको सिधा जवाफ हुन्छ— जेनजीको । सैद्धान्तिक रुपले त हो । किनभने नेपाली कांग्रेस र नेकपा एमालेको झण्डै दुई तिहाइ नजिकको छँदाखाँदाको सरकार जेनजी आन्दोलनले ढाल्यो । सरकार मात्र ढालेन संसद पनि फाल्यो । त्यही आडमा जेनजीले नै यो सरकार बनाए ।

त्यसो भए जेनजी को हुन् ? कहाँ छन् ? कति जना या समूह छन् ? या उनीहरुले के कसरी र कसको सिफारिशमा सरकार बनाए ? यी प्रश्न भने अनुत्तरित छन् । तर आंशिक रुपमा । किनभने जेनजी हुँदै नभएका होइनन् । किनभने प्रधानमन्त्री राष्ट्रपतिले बेला बखत बैठक बोलाउँदा जेनजी जान्छन् । सहभागी भएर आफ्नो कुरा पनि राख्ने गर्दछन् ।

अनि एकजना त मन्त्री पनि जेनजीले बनाए । तर कुन समूह या व्यक्तिले सिफारिश गरे भन्ने रेकर्ड भने छैन । तर प्रधानमन्त्रीसमक्ष मन्त्रीको सिफारिश गर्ने जेनजी भने यहाँ प्रसस्तै छन् ।

आजको एक समाचारले देशव्यापी चासो जगाएको छ सुदन गुरुङको । गुरुङ गएको भदौ २३ र २४ गतेको आन्दोलनमा प्रत्यक्ष रुपमा आन्दोलनकारी त होइनन् किनभने उनले आफू आन्दोलन गर्न नभएर पानी बाँड्न आएको भनेको भिडियो अहिले नै खोज्दाप नि सहजै भेटिन्छ ।

तर पनि सरकार बनाउन भने उनी राष्ट्रपति कार्यालयदेखि धेरै ठाउँमा पुगे । उनले प्रधानमन्त्रीलाई नियुक्त भएलगत्तै खुट्टामै ढोगे । अनि कैयौँ युवाहरु अघिपछि लगाएर घाइते भेट्न गए । मिडियामा अन्तरर्वार्ता दिए, दिइरहेकै छन् र अब चुनाव भएरै छोड्ने र पुराना नेता या पार्टी कोही पनि निर्वाचित नहुने बताइरहेकै छन् ।

तिनै सुदनले  गृहमन्त्रीको राजीनामा मागेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर गृहमन्त्री ओमप्रकाश अर्याललाई पद छोड्न र नछोडे आफूले चुनाव हुन नदिने बताएका छन् । त्यो समाचारलाई आजका प्राय धेरै मडियाले प्रचार गरेका छन् ।

मिडियाले सुदनलाई जेनजीको सबसे बडो प्रतिनिधि बनाइछोडेका छन् । र त आज उनको स्टाटसलाई पनि व्यापकै प्रचार गरेका छन् । यस विषयमा प्रधानमन्त्रीको कुनै प्रतिक्रिया अएको त छैन तर पनि उनी पनि सुदनको स्टाटसको दबाबमा परेको खबर बाहिरिएको छ । यदि त्यसो हो भने यो सरकारको अवस्था के होला त ? यो प्रश्नको जवाफ खोज्ने बेला भने भइसकेको छैन ।

यसअघि पनि गृहमन्त्रीको राजीनामा विभिन्न जेनजी समूहले मागेकै थिए । ती समूहले फेसबुकमा अभियान पनि चलाए । त्यसपछि बाध्य भएर स्वयं प्रधानमन्त्री कार्यालयले विज्ञप्ति नै प्रकाशन गरेर गृहमन्त्री फेर्न नलागेको स्पष्ट गर्नुपरेको थियो ।

वास्तविकता के हो भने जेनजी को हो र कति जना या समूह छन् भन्ने कुराको पहिचान अझै भइसकेको छैन । कसैले प्रधानमन्त्रीकै पनि राजीनामा माग्ने गरेका छन् भने गृहमन्त्रीको पनि दिनहूँजसो नै समाचार आइरहेकै हुन्छ ।

कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री कार्यालयमा पुगेर उनीहरु नाराबाजी गरिरहेका हुन्छन् भने कहिले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरिरहेका हुन्छन् । तर कुनै पनि जेनजीले यो सरकारले ठिक काम गरिरहेको छ भनेर भन्न सकिरहेका छैनन् ।

एकातर्फ यसरी यो सरकार जेनजीको बन्न सकेको छैन भने अर्कातर्फ दलसँगको सम्बन्धको अवस्था पनि त्यस्तै छ । स्वयं प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग वार्ता गरेकी छैनन् । उनले केही दिन अघि सर्वदलीय बैठक बोलाउँदा पनि पार्टी अध्यक्षहरु नभएर दोस्रो तहका नेता पठाउन भनेकी थिइन् ।

यसरी दलका नेता नभेट्ने अनि निर्वाचन फागुन २१ मा गरेरै छोड्छु भन्नु कत्तिको जायज कुरा हो ? प्रधानमन्त्रीको यो कुराले चुनाव सफल होला त ? शंका गर्नेहरु धेरै छन् । अहिले निर्वाचनको बारेमा सेरेमोनियल राष्ट्रपतिले बैठक डाकिदिने या कुराकानी गरिदिनुपर्ने अवस्था देखिँदैछ ।

एमाले बाहेक अरु दलले चुनावमा नजाने त भनेका छैनन् तर उनीहरु पनि चुनाव हुनेमा आशंका नै गर्छन् । यता एमाले भने स्पष्ट के भनिरहेको छ भने यो सरकारले चुनाव गर्न सक्दैन र एमाले चुनावमा पनि जाँदैन । दलहरु आफ्नै आन्तरिक द्धन्द्धको दलदलमा फसिरहेका र टुटफुटमा व्यस्त भइरहेका छन् ।

त्यसो त उनीहरुले पनि यो सरकारलाई अफ्नो सरकार मानिरहेको अवस्था छैन । यसरी न स्थापितको र नत विस्थापितकै बन्न सकेको छ सरकार । जेनजीको सरकार भनौँ भने जेनजीहरु नै यो सरकारको खिलाफमा छन् । दलको भनौँ भने दलहरु नै स्वीकार गर्ने पक्षमा छ्रैनन् । यसरी न दलको र नत जेनजीको बन्न सकेको छ सरकार ।