काठमाडौँ । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ ।
कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरु आकर्षित गर्ने गर्छ । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ । पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन् ।
मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् । धाँमी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ । तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन रहँदै आएको छ । स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्दछन् ।










