१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लागिरहेका धेरैजनाको एकताले उकालो चढिँदैन



अ+ अ-

हामीले संविधान नयाँ लेख्यौँ, राज्य व्यवस्था नयाँ बन्यो, बसाईँ सराई तथा बजारको विस्तारले समाजको संरचनामा नयाँ र ठूला परिवर्तन भयो, राजनीतिक पार्टीका नारा र कार्यभार नयाँ भएका छन्, सङ्क्षेपमा भन्ने हो भने सबै कुरा नयाँ भएका छन्। तर पुराना राजनीतिक पार्टीहरुको नेतृत्व बदलिएको छैन ।

त्यसले नेतृत्वलेपार्टीहरुको आन्तरिक लोकतन्त्रलाई कब्जा गरेको छ, सामाजिक तनावलाई बढाएको छ र राष्ट्रिय एकतालाई कमजोर बनाएको छ । त्यसले संविधान, राज्य, संसद, राजनीतिक दलहरु, अर्थतन्त्र र नेपाली जनताको मनोविज्ञानलाई अवरुद्ध गरेको छ समाजमा चौतर्फी निराशा र आक्रोश बढाउँदै लगेको छ ।

भूराजनीतिक चलखेललाई आमन्त्रण गरेको छ । गत भदौ २३ गते जेन् जी आन्दोलनका नाममा समाजको त्यो उकुसमुकुस बाहिर प्रकट भयो । त्यस प्रदर्शनमाथि सरकारले गरेको फासिष्ट दमनले समाजको आक्रोशलाई उद्वेलित गर्‍यो । त्यसलाई दुरुपयोग गरेर सामाजिक लफङ्गा, पपुलिष्ट, पुनरुत्थानवादी र अन्य षडयन्त्रकारी तत्वहरुले मुलुकलाई आगजनी, तोडफोड र लूटपाटको विध्वंशमा धकेले । नेपाली समाजलाई हाम्रा नेताहरुद्वारा नियन्त्रित राजनीतिले यतिसम्म कमजोर बनाएका रहेछन् कि अपराधीहरुले मुलुकको लोकतान्त्रिक सम्प्रभुतामाथि आक्रमण गर्दा पनि कसैले प्रश्न गर्न सकेन । अहिले हामीले जे जस्ता संवैधानिक तथा राजनीतिक सङ्कट देखेका छौँ, नदेखिएका बहुआयामिक
सङ्कटका खतरा तीभन्दा बढि छन्।

राष्ट्रलाई असल नेतृत्व किन चाहिन्छ भन्ने कुरा हामी नेपालीले अहिले जति इतिहासमा कहिल्यै सोच्नु परेको थिएन । हामीसँग सबैथोक छ : मानव तथा प्राकृतिक श्रोत/साधन छ, समावेशी तथा संघीय लोकतान्त्रिक गणतन्त्र छैन भने केवल मुलुकले खोजेको राजनीति छैन, त्यस्तो राजनीतिको नेतृत्व छैन ।

आधुनिक नेपालमा कम्युनिष्ट पार्टीले राष्ट्रिय हित, लोकतन्त्र र सामाजिक न्यायका क्षेत्रमा अतुलनीय भूमिका खेलेको छ । संविधानको अन्तरवस्तुमा कम्युनिष्ट आन्दोलनको गहिरो र स्पष्ट प्रभाव छ । त्यसका जगमा फराकिलो वामपन्थी जनमत बनेको छ । औपचारिक दस्तावेजमा सबैजसो मुख्य पार्टीका विचार तथा सिद्धान्तहरुमा जोडिएका कही नक्कली मतभिन्नता बाहेक मूलभूत विषयमा समानता छ ।

नेपाली समाजका वर्गहरु, अर्थतन्त्र र राजनीतिमा पुँजीवादको, खासगरी दलाल पुँजीवादको वर्चश्व, समाजवादी कार्यदिशाजस्ता प्रश्नमा उनीहरु एकै ठाउँमा छन्। हामी आफ्नै पहलमा गरेका अध्ययन तथा छलफलबाट त्यस्ता धेरै महत्वपूर्ण विषयमा तथ्यसङ्गत निष्कर्षहरु निकालेका थियौँ । ती निष्कर्ष अहिलेको कम्युनिष्ट आन्दोलनको साझा साहित्य बनेको छ । केवल नेता र तिनका गुटहरुको स्वार्थले केही मतभिन्नताहरु देखाइने गरेको छ र कम्युनिष्ट आन्दोलनलाई अनेक समूहमा विभाजित गरिएको छ ।

ती स्वार्थबाट माथि उठेर विज्ञानसम्मत छलफल गर्ने हो भनेसबैमतभिन्नताहरु केही दिनमै सजिलै समाधान गर्न सकिन्छ । नेपालको समाजवादी रुपान्तरणको प्रक्रियालाई ठोस कार्यक्रमका साथ अगाडि सार्न सकिन्छ । लाखौँ
सदस्य र समर्थक तथा शुभचिन्तकहरुलाई त्यस्तो कार्यक्रमका वरिपरी सङ्गठित गर्न सकिन्छ । चुनावदेखि चुनावसम्म वा सत्तादेखि सत्तासम्मको गोलचक्करमा फसेको आन्दोलनलाई क्रमश: रुपान्तरण गर्न सकिन्छ । तर कम्युनिष्ट पार्टीका नेताहरुले, तिनका गुटहरुलेएकता र रुपान्तरणलाई रोकिरहेका छन्।

नेतृत्वकै कारणले हाम्रो आन्दोनल तिब्र अराजनीतिकरण हुँदैझन्झन् दक्षिणपन्थी र अवसरवादी बन्दै गएको छ । पार्टीहरु नेताहरु स्वार्थ र सुरक्षाका लागि बनाइएका संयन्त्र भएका छन्। कस्तो कन्तविजोग छ भने नेताले जस्तो सुकै गल्ती वा अपराध गरे पनि तिनकै बहुमत हुने गरी पार्टीहरु बनेका छन् । त्यसैले दशकौँसम्म लाखौँ सदस्य, समर्थक तथा शुभचिन्तकहरुको बलिदान, त्याग, जेलनेल, यातना र स्वयंसेवाबाट निर्मित भएको यो आन्दोलनको विचार र सङ्गठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठनअति जरुरी भैसकेको छ । त्यस्तो पुनर्गठनको पहिलो शर्त मुख्य नेताहरुको विश्राम बनेको छ ।

यही नेतृत्वलाई लिएर न सङ्गठन बन्न सक्छ, न आन्दोलन हुन्छ, न त निर्वाचनको सामना हुनेछ । नेकपा एकीकृत समाजवादीको गठन हाम्रो आन्दोनलमा एउटा विशेष घटना थियो । तर अहिले हाम्रो पार्टीका अध्यक्षसहित बहुमतले एकीकरणको प्रक्रिया अगाडि बढेको छ । कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको घोषित उद्देश्यका साथ बनेको यस पार्टीले त्यो उद्देश्यमा कति सफल भयौँ वा भएनौँ वा पार्टी बनाउनुको औचित्य स्थापित भयो वा भन्नेसमेत कसैलाई नबताई अन्य पार्टीसँग एकता गर्ने निर्णय गर्नु वस्तुत: ठूलो घोका हो । त्यसबाहेक, करिब दुई महिना अगाडि भएको जेन् जी आन्दोलन, राष्ट्रव्यापीरुपमा भएको आगजनी, तोडफोड र लूटपाट, त्यसपछि संविधान, राज्य, संविधान, राजनीति, राजनीतिक दलहरुको बेवारिस अवस्था कुन सामाजिक–आर्थिक–भूराजनीतिक सन्दर्भमा भएका हुन् र त्यसले कस्ता कार्यभारको माग गर्छन्जस्ता ज्वलन्त प्रश्नमा बेखबर भएर जुन एकता गरिँदै छ त्यसले
आगामी दिनमा अझै ठूला सङ्कटहरु निम्त्याउने छ ।

एकताका नाममा उल्टो बाटो हिँडेर जे तमासा गरिँदैछ त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जानेछ । हाम्रो नेतृत्व असफल विवादित बन्दै गएको र नेकपा माओवादी केन्द्रको नेतृत्वमाथि ठूला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरुको नालायकी लुकाउने प्रयास बाहेक केही हुने छैन ।

आजको कम्युनिष्ट पार्टी आजका समाजवादी कार्यभार बोक्न सक्ने हुनु पर्छ । हामीले नेकपा एमालेको आठौँ महाधिवेशनदेखि नै यस विषयमा प्रश्न गर्दै आएका हौँ । पार्टीको नवौँ महाधिवेशनले केही महत्वपूर्ण
सैद्धान्तिक निर्णयहरु गरेको थियो । तर नेतृत्वमा आएको घोर व्यक्तिवादी, दक्षिणपन्थी गुटले पार्टीलाई योजनाबद्धरुपमा विचारशून्य चाकरीवाजहरुको जत्थामा रुपान्तरित गर्दै गयो । सत्ता लिप्साको बेहोसीमा त्यसको नेतृत्वले अहिले मुलुकलाई नै दुर्घटनामा धकेलेको छ र अरु दुर्घटनातर्फ लतार्दैछ ।

नेकपा एकीकृत समाजवादीको नेतृत्वले पनि सत्ताको खेलमा लागेर क्रान्तिकारी पार्टी निर्माणको प्रश्नलाई किनारा लगाई दियो । त्यसैले पार्टी निर्माणको प्रश्न आजको सर्वथा महत्वपूर्ण विषय भएको छ । त्यस्तो पार्टी सङ्गठनका
केही विशेषता निम्नानुसार उल्लेख गर्न सकिन्छ :

-दलाल पुँजीवादका ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादी रुपान्तरणलाई सुनिश्चित गर्ने,

– सबै क्षेत्रमा राष्ट्रिय पुँजीको विकास गरी बेरोजगारी अन्त्य गर्ने योजनालाई नेतृत्व गर्न सक्ने,

-सामाजिक विभेदलाई उन्मुलन गर्ने अभियानलाई अगुवाई गर्न सक्ने र भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासनलाई प्रत्याभूति गर्न सक्ने समाजवादी ध्येयको सङ्गठन,

-आजको युगमा पुँजीवादी साम्राज्यवादी शोषणका विरुद्ध लड्न सक्ने चेतनाको सदस्यहरुको सङ्गठन,

-मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनका प्रश्नमा हरेक सदस्य सचेत रहेको सङ्गठन,

– सबै सदस्यहरुमा क्रान्तिकारी वैचारिक तथा साङ्ठानिक योग्यता सुनिश्चित हुने मापदण्डका

-आधारमा हरेक कमिटीका पदाधिकारीको चयन, निर्वाचनका उम्मेदवारहरुको चयनलगायत अन्य

-विषयमा माथिल्ला कमिटीको कुनै पनि हस्तक्षेप नहुनेव्यवस्था,

-पार्टीका सबै सदस्यहरु आफ्नै उत्पादनमा बाँच्छन्भन्ने कुराको प्रत्याभूति,

-सबै कमिटी निर्वाचित हुने र सबै निर्णय संस्थागत हुने,

-नीतिगत सबै निर्णयमा कुनै कमिटीका सदस्यले मात्रै होइन, सबै सदस्यले भोट गर्न पाउने (यस्तो प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्न आजको प्रविधिले सम्भव बनाएको छ)

-हरेक कमिटीका उम्मेदवार पदाधिकारीहरुमाथि सार्वजनिक उजुरीको व्यवस्था,

-पदका कारणले आर्थिक हैसियत नबढ्ने कुराको ग्यारण्टी (अर्थात  कसैले पनि घुस खाँदैन भन्ने कुराको प्रत्याभूति),

-शिक्षा र स्वास्थ्यमा नीजी लगानी गर्नेहरु निश्चित समयमा पार्टी नेतृत्वमा रहने छैनन् भन्ने प्रत्याभूति,

-कुनै पनि फौजदारी मुद्दा लागेको व्यक्तिको सदस्यता स्वत: निलम्बन हुने,

-आदेश र फर्मानमा होइन, सम्बाद र सहकार्यमा आधारित,

-जनसंगठनका अध्यक्षहरु सम्बन्धित तहको पार्टी कमिटीको सदस्य हुने, इञ्चार्जका नाममा कसैलाई पनि नपठाउने,

-पार्टीको तर्फबाट गएका सबै जनप्रतिनिधि त्यही स्तरको पार्टी कमिटीको प्रत्यक्ष निर्देशनअन्तरगत रहने,

-सबै तहका जनप्रतिनिधिको उम्मेदवारको क्रान्तिकारी योग्यताको निर्धारण,

-हरेक तहका कमिटीका सदस्यको योग्यता निर्धारण गरिने,

-सदस्यहरुको सदस्यता शुल्क र पारदर्शी सार्वजनिक चन्दामा आधारित आर्थिक व्यवस्थापन,

-जिम्मेवारी पूरा गर्न नसक्ने कुनै पनि पदाधिकारी वा सदस्यको पद रिक्त हुने,

-हरेक कमिटीमा चुनिन पाउने अवधिको निर्धारण, आदि ।

यस्ता मापदण्डका आधारमा पार्टीहरुको पुनर्गठन गर्दै त्यसरी पुनर्गठित पार्टीहरुको ध्रुविकरण र एकताका आधारमा हामीले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न सक्छौँ । त्यस्तो पार्टीले मात्रै मुलुकलाई आजको राजनीतिक गतिरोधबाट मुक्त गर्दै मुलुकको समृद्धि र समाजवादको दिशामा अगाडि बढाउन सक्छ । एकता वा एकीकरणको यो बाटो सुल्टो हुन्छ ।

लामो समयदेखि गलत नेतृत्वले अराजनीतिक बनाएको कार्यकर्ताको ठूलो पङ्ति अहिले निराश छ, अर्को ठूलो पङ्ति आत्मरक्षा वा आत्मस्वार्थको कारणले यो वा त्यो पार्टी वा नेताको पछाडि लागेर सुरक्षा खोजीरहेको छ । तर सबै पार्टीहरु, खासगरी वामपन्थी पार्टीहरु तिब्रताका साथ विघटनतर्फ जाँदैछन्।

यस अवस्थामा समाजवादी क्रान्तिको विषयमा जिम्मेवारीपूर्वक सोच्नेहरु तत्कालका लागि कम हुनेछन्। तर सङ्ख्यामा जति भए पनि प्रतिबद्ध क्रान्तिकारीहरुकोसमूहले स्पष्ट विचार र मुद्दाका साथ हस्तक्षेप गर्न सक्दा क्रान्तिकारी ध्रुविकरणको नयाँ र महान् प्रक्रिया आरम्भ हुन सक्छ । त्यसैले इमान्दार क्रान्तिकारीहरुले नयाँ पहलकदमीका लागि तयार हुनु पर्छ । समाजको स्वार्थलम्पट पछौटेहरुको ठूलो पार्टी बनाउन समय खर्च गर्ने होइन नयाँ युगको क्रान्तिकारी पार्टी निर्माणका लागि तयार हुनु पर्छ ।

ओरालो लागिरहेका धेरैजनाको एकताले उकालो चढिँदैन । गत कार्तिक १५ गते पार्टीको केन्द्रीय कमिटीका सदस्यहरुको आकस्मिक बैठकले समग्र परिस्थितिको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पुनर्गठनका लागि पार्टी पङ्तिलाई आह्वान गर्ने र भावि योजना बनाउनका लागि स्थायी कमिटीमा रहेका कमरेडहरुलाई जिम्मा दिएको छ ।

त्यसैले तथाकथितएकताको भ्रममा नपर्न, नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन, र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरुलाई हामी आह्वान गर्दछौँ । साथै, आगामी मंशिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गर्दछौँ । त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने छ ।

हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेशा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ ।

घनश्याम भूसाल
महासचिव, नेकपा (एकीकृत समाजवादी)