काठमाडौं । विद्यालय तथा क्याम्पसहरू चैत मसान्तसम्म बन्द भएपछि काठमाडौंबाट बाहिर जानेहरूको संख्या बिहीबारबाट बढन थालेको छ । सरकारले कोरोना भाइरस सक्रमणको सतर्कताका रूपमा केही समयअघि विद्यालयहरूको परीक्षा चैत ५ गतेसम्ममा सकेर चैत ६ गतेदेखि बिदा दिने निर्णय गरेको थियो । त्रिवि अन्तर्गतका क्याम्पसहरू पनि बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने तथा एसईई परीक्षा पनि बन्द भएपछि काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको हो । उपत्यकाबाट अधिकांश बालबालिका, महिला तथा वृद्धहरू कोरोनाको त्रासले गाउँ फर्कन थालेका हुन् ।

फर्कने अधिकांशले मास्क लगाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अन्य दिनको भन्दा बिहीबार उपत्यकाबाट घर जाने यात्रुको संख्यामा एक्कासी वृद्धि भएको जनाएको छ । उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी, जगाती, दक्षिणकाली हुँदै बाहिरिने सवारी साधनको संख्या बढ्न थालेको छ । ट्राफिक प्रहरीका अनुसार यस्तो भीड दसैँमा मात्र हुने गरेको थियो । यात्रुको चाप बढ्न थालेपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीका रुट इजाजत खुला गरेको छ । रुट खुला गरिएपछि शुक्रबारदेखि एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउने छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भीड बढ्ने सम्भावनाका कारण सवारीका रुट खुला गरिएको बताए । योसँगै नयाँ लाइसेन्स र थपको आवेदन बन्द गरिएको छ । तर लाइसेन्स नवीकरण कार्य भने खुला राखिने छ । गाडीमा सिटभन्दा बढी यात्रु चढाउन नपाइने, गाडीमा स्यानीटाइजर अनिवार्य र यात्रुहरूले मास्क अनिवार्य लगाउनुपर्ने विभागले निर्णय गरेको छ ।
भारतबाट धमाधम आउँदै:नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक भएपछि भारतबाट नेपाल आउनेको संख्या ह्वातै बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखिसकेको छ । तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकजसो हवाईमार्ग हुँदै भारतीयहरू नेपाल आउने क्रम बढेको छ । भारतमा मानवीय हताहती बढेसँगै भारतीय नागरिकहरू त्रसित भई संक्रमणबाट जोगिन नेपाल आउन थालेको बताएका छन् ।
विदेशबाट आएका नागरिकलाई नेपालमा ‘थर्मल गन’ र ‘स्क्रिनिङ’ गरेर परीक्षण गरिरहेको छ । यतिमात्रले पनि स्वस्थ्य व्यक्तिको परीक्षण गराइमा सन्तुष्ट हुने आधार नरहेको यात्रुहरूले बताउने गरेका छन् । यसैगरी भारतमा काम गरिरहेका नेपाली पनि धमाधम स्वदेश फर्किन थालेका छन् । त्यहाँ विना तलब एक महिना छुट्टि दिएपछि काम गरिरहेका नेपालीहरू स्वदेश फर्किन थालेका हुन् । सौर्य दैनिक








