काठमाडौं, कात्तिक १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले मान्यता नदिन विश्वास व्यक्त गर्नुभयो । अदालतमा मुद्दा विचाराधीन रहेकोले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले काम गर्न नहुने उहाँको धारणा छ । ‘संवैधानिक परीक्षणमा यो सरकार खरो साबित हुन सक्दैन’, पोखरेलले भन्नुभयो ।
पोखरेलले भदौ २३, २४ को घटनामा आन्दोलन कम अपराध बढी भएको बताउनुभयो । सो आन्दोलन अग्रगमनको लागि नभएर पश्चगामी भएको पोखरेलको धारणा छ । ‘२३ र २४ गतेको घटना पछाडि मुलुक प्रतिगमन तर्फ उन्मुख छ, जनताले लामो त्याग र बलिदानले ल्याएको संविधान घाइते भएको छ, जननिर्वाचित प्रतिनिधि सभा भङ्ग भएको छ‘, उहाँले भन्नुभयो ।
निर्वाचनको लागि गठन भएको यो सरकारलाई ६ महिना भित्र निर्वाचन गर्ने म्यनडेट दिएको बताउँदै उहाँले यो सरकारले सो वातावरणको सुनिश्चितता गर्न नसकेको बताउनुभयो । ‘जनताको रोजाइको पहिलो पार्टी एमालेका अध्यक्षलाई स्थानहद गरेर चुनाव गराउने कुरा काल्पनिक हो’, उहाँले भन्नुभयो ।
पोखरेलले आज सबैभन्दा बढी प्रहरीको मनोबल गिरेको बताउँदै प्रहरीको मनोबल नउठी चुनाव नै हुन नसक्ने बताउनुभयो । राज्य माथि नियोजित आक्रमण गर्नेलाई कारबाही नगरी राज्य बलियो नहुने उहाँको धारणा छ ।
आन्दोलनको नाममा जेल खालि गर्ने षडयन्त्र गरिएको बताउँदै उहाँले जेलबाट भागेका मानिसहरूले दैनिक जसो कुनै न कुनै घटना गराइरहेका बताउनुभयो । उनीहरूलाई जेलमा फर्काउने र लुटिएका हतियार फिर्ता ल्याउने कुरा सरकारको प्रमुख दायित्व भएको उहाँले प्रष्ट पार्नुभयो ।










