काठमाडौँ । चार दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु भएको छ । आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट स्थानीयको अवरोध खुल्दै फोहोर फाल्न अनुमति दिइएको हो ।
ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार सहरी विकास मन्त्री कुलमान घिसिङको टोलीले स्थानीयको माग १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ल्याण्डफिल साइट खुलाइएको हो ।
मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राईलगायतको टोली आज बिहानै बञ्चरेडाँडा पुगेको थियो ।
२०७९ जेठ २६ गते संघीय सरकार, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबीच १८ बुँदे सम्झौता भएको थियो । तर उक्त सम्झौताका बुँदाहरू कार्यान्वयन नहुँदा प्रभावित स्थानीयले असन्तुष्टि जनाउँदै फोहोर फाल्न अवरोध गरेका थिए ।
गत शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि आइतबार मात्रै सहमति जुटेको हो ।
हाल काठमाडौँ महानगरपालिका सहित उपत्यकाका अन्य स्थानीय तहबाट दैनिक करिब १५० भन्दा बढी गाडी फोहोर बञ्चरेडाँडामा लगिन्छ ।
यस ल्याण्डफिल साइटले नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका तथा धादिङको धुनवेशी नगरपालिकाका स्थानीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ ।










