२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स बिना अटो रिक्सा चलाउँछन् अधिकांश चालक



अ+ अ-

भैरहवा । भैरहवाका ६२ प्रतिशत अटो रिक्सा चालकहरूसँग सवारी चालक अनुमतिपत्र नरहेको विवरण सार्वजनिक भएको छ । विकल्प एण्ड अल्टरनेटिभ नामक संस्थाले भैरहवाको १५० बढी रिक्सा चालकसँग गरेको सर्वेक्षणमा ६२ प्रतिशत बढीसँग चालक अनुमतिपत्र नरहेको तथ्य फेला परेको हो । सहरहरूमा हजारौँ मानिसहरूको आम्दानीको स्रोत र जीवन गुजाराको साधन बनेको सिटी÷अटो रिक्सा चालकहरू लाइसेन्सकै कारण विस्थापित हुने जोखिम बढेको सर्वेक्षणले देखाएको छ ।

सिटी रिक्साको आगमनसँगै यसको दर्ता, लाइसेन्स, इन्स्योरेन्स र ट्राफिक व्यवस्थापनलगायतका विषयमा समस्या देखिँदै आएको सो संस्थाका प्रतिनिधि वसन्त अधिकारीले बताउनुभयो । यसमध्ये पनि अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्र नहुनु सबैभन्दा ठूलो र गम्भीर समस्याका रूपमा देखिएको उहाँको भनाइ छ ।

यो समस्या भैरहवामा मात्र होइन, तराईका मुख्य सहरहरूमा उस्तै छ । विभिन्न जिल्लाका ९६३ जना ई–रिक्सा चालकको सर्वेक्षणले भयावह अवस्था देखाएको उहाँको भनाइ छ । अधिकारीका अनुसार कोशी प्रदेशमा झन्डै ७८ प्रतिशत चालकसित लाइसेन्स छैन ९विराटनगरमा ८४ प्रतिशतभन्दा बढी० । जनकपुरमा ८१ प्रतिशत चालकसँग लाइसेन्स छैन भने लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा ६२ प्रतिशत र नेपालगञ्जमा ९६ प्रतिशतभन्दा बढी चालकसित लाइसेन्स नरहेको सर्वेक्षणले देखाएको उहाँको भनाइ छ ।

लाइसेन्स नहुँदा दुर्घटना भएर मानिस हताहत भएको खण्डमा चालकलाई जेलसमेत जाने अवस्था रहेको उहाँले बताउनुभयो । “लाइसेन्स नभएकै कारण इन्स्योरेन्स कम्पनीले पनि तेस्रो पक्षको क्षतिपूर्तिको रकम भर्पाइ गर्न असमर्थ हुन्छन् । क्षतिपूर्तिको रकम न्यून आय भएका चालकले तिर्न नसकेको अवस्थामा जेल जाने जोखिम बढ्छ, जसले उनीहरूको परिवारको जीविकोपार्जनमाथि गम्भीर सङ्कट निम्त्याउँछ”, अधिकारीले भन्नुभयो ।

नियमअनुसार लाइसेन्स लिनका लागि लिखित र ‘ट्रायल’ परीक्षा अनिवार्य हुन्छ । तर, अधिकांश सिटी रिक्सा चालकहरू साक्षर नभएका कारण ट्रायल पास गरे पनि लिखित परीक्षा पास गर्न असमर्थ रहेको सर्वेक्षणले देखाएको उहाँले बताउनुभयो । यही कारण उनीहरू लाइसेन्स लिनबाट वञ्चित भइरहेको मुख्य कारणका रूपमा छ ।

सिटी रिक्सा चालकहरूको जीविकोपार्जनको व्यावहारिक पक्षलाई ध्यानमा राख्दै उन्नत नीति इन्स्टिच्युट र विकल्प एण्ड अल्टरनेटिभले आज भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी राज्यलाई लाइसेन्स प्रक्रिया सरल बनाउन आग्रह गरेका छन् ।

सिटी रिक्सा ठूलो र जटिल सवारीसाधन नभएकाले लिखित परीक्षाको व्यवस्था हटाई ट्याक्टरको हकमा जस्तै ट्रायल परीक्षामार्फत अनिवार्य लाइसेन्स दिने व्यवस्था गर्न सकिने संस्थाहरूको सुझाव छ । अन्यथा लिखित परीक्षाका प्रश्नावलीलाई साङ्केतिक बनाउने वा लिखित परीक्षाको ठाउँमा मौखिक अन्तर्वार्ता लिएर ट्रायल जाने प्रावधान मिलाउन सकिने विकल्प पनि रहेको उन्नत नीति इन्स्टिच्युटका प्रतिनिधि सुरेश सापकोटाले बताउनुभयो ।

नीतिनिर्माता तथा सम्बन्धित निकायले सिटी रिक्साको व्यवस्थापन तथा चालकहरूको लाइसेन्समा देखिएको यो गम्भीर समस्यालाई प्राथमिकतामा राखी तत्काल समाधानको पहल गर्न जरुरी रहेको संस्थाले जोड दिएको छ ।