काठमाडौँ । भिजिट भिसासम्बन्धी विवाद बढेपछि अध्यागमन विभागले यसअघि लागू गरिएको ६ बुँदे मापदण्डलगायत सबै प्रावधान खारेज गरेको छ ।
गृहमन्त्रालयको ०८२ कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ प्रावधान लागू गरिएको विभागले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभागले जारी गरेको प्रेस वक्तव्यमा नयाँ भिसा प्रणालीका मापदण्डबारे जानकारी दिइएको छ । विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी गन्तव्य देश र यात्राको उद्देश्यबारे पूर्ण जानकारी लिएर मात्रै विदेश यात्रा गर्न नागरिकलाई आग्रह गरेको छ ।
नयाँ व्यवस्थाअनुसार वैदेशिक यात्रा गर्दा कम्तीमा ६ महिना वैधता भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा)वा अन–अराइभल भिसा उपलब्ध हुने देशका लागि प्रवेशाज्ञा नचाहिने व्यवस्था, यात्राको कारण, हवाई टिकट र आवश्यक कागजात अनिवार्य हुने जनाइएको छ। साथै, भ्रमणका क्रममा कुनै समस्या उत्पन्न भए स्वयम् जिम्मेवार रहने उल्लेख गरिएको स्वघोषणापत्र पनि पेश गर्नुपर्नेछ ।
अध्यागमन विभागले भिजिट भिसासम्बन्धी प्रक्रिया पारदर्शी र दुरुपयोगरहित बनाउन नयाँ प्रावधान ल्याएको जनाएको छ ।










