काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रिया अघि बढेको छ ।
अधिवक्ता प्रेमराम सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्दै ओलीमाथि तोकिएको स्थानहद गैरकानुनी भएको दाबी गरेका छन् ।
सर्वोच्चका एक कर्मचारीका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ । रिट निवेदन पेश भएको तथा अहिले अध्ययन भइरहेको र अध्ययनपछि दर्ता गर्ने वा नगर्ने निर्णय हुने जनाइएको छ ।
सिलवालले दायर गरेको रिट ओलीको तर्फबाट नभई ‘सार्वजनिक चासोको विषय’का रूपमा प्रस्तुत गरिएको बताइएको छ ।
सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्ने वा स्थानहद तोक्ने सरकारी कदमविरुद्ध सम्बन्धित व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने अभ्यास रहँदै आएको छ ।
सरकारले २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न गठन गरिएको जाँचबुझ आयोगको सुझावका आधारमा ओलीलाई अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णय गरेको हो ।
आयोगको सिफारिसअनुसार उनको पासपोर्ट समेत रोक्का गरिएको छ ।









