काठमाडौं । सर्वोच्च अदालतले भदौ २४ गते भएको आगलागीका कारण अदालतमा पुगेको क्षतिको विवरणसहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनभित्र प्रहरीमा औपचारिक जाहेरी दर्ता गरिनेछ । आइतबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
कोइरालाका अनुसार किटान गरेर नभई सर्वोच्चमा भएको सम्पूर्ण क्षतिको विवरणसहित प्रहरीमा जाहेरी दिने तयारी गरिएको हो । प्रतिवादी पहिचान भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाउने उनको भनाई छ ।
भदौ २४ गते जेनजी आन्दोलनपछि सर्वोच्च अदालतमा भएको आगलागीबाट दुई लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल नष्ट भएका थिए । तीमध्ये चालु अवस्थामा रहेका २४ हजार २ सय ३४ वटा मिसिलमध्ये २० हजार ३४ वटा पूर्ण रूपमा जलेका थिए भने ४ हजार २ सय मिसिल जोगिएका थिए । जोगिएका मिसिलमध्ये २ हजार ५ सय ९ वटा रिटका र १ हजार ६ सय ९१ वटा सामान्य मुद्दाका थिए ।
त्यसैगरी अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि आगलागीमा नष्ट भएका छन् । सर्वोच्च अदालतका ४३ वटा चार पांग्रे गाडी जलेर ध्वस्त भएका छन् ।
यस्तै, अदालत भवनभित्र रहेका १ हजार ४ सय ९२ वटा कम्प्युटर, ६ सय ३५ ल्यापटप र ४ सय ४५ वटा सिसी क्यामरा समेत आगलागीमा परी ध्वस्त भएको अदालतले जनाएको छ ।










