काठमाडौँ । ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको भन्ने सूचनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान ह्यात रिजेन्सी होटलका व्यवस्थापनसँग टेलिफोनमार्फत सम्पर्क गरी विस्तृत जानकारी लिनुभएको हो।
कुराकानीका क्रममा अर्थमन्त्री खनालले सरकार ह्यात होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा अवरुद्ध नगरी निरन्तरता दिन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “तपाईंहरू आत्तिनु पर्दैन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था सरकारले मिलाउँछ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।”
सरकारले होटल व्यवस्थापनसँग भोलि आइतबार थप छलफल गरी आवश्यक पहल र निर्णय गर्ने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ।










