२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपतकालीन अवस्था र विपद् व्यवस्थापनका लागि हेलीप्याड सहितको छुट्टै अस्पताल आवश्यक: डा.मोहनचन्द्र रेग्मी



अ+ अ-

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बनेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि घाइते भएकाहरुले निजामति (सिभिल अस्पताल) अस्पताल भरिएको थियो । प्रदर्शन भइरहेको स्थान नजिकै भएकोले अस्पताल प्रभावित हुनु नौलो होइन ।

अस्पतालको सेवा र विशेषताको आधारमा यस प्रकारको आकस्मिकता र दुर्घटनाको लागि यो अस्पताल स्थापना नभए पनि धेरै ठूला—ठूला बिपत्तिमा यसले आफ्नो काम सफलतापूर्वक सम्पन्न गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरु घाइते हुँदा पनि सेवा नरोकिएको बताउनु भयो ।

आन्दोलनको पूर्वसूचना रहे पनि कस्तो र कत्रो आकारमा क्षति हुन्छ भन्ने आँकलन नभए पनि अस्पतालले डिजास्टर म्यानेजमेण्ट प्रोटोकल अपनाएर सेवा दिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक रेग्मीले आन्दोलनकारी र सुरक्षाकर्मी दुवैले अस्पतालको शान्ति क्षेत्रको मर्यादा उल्लंघन गरेको गुनासो गर्नुभयो । आपत्कालीन अवस्था र विपद् व्यवस्थापनका लागि हेलीप्याडसहितको छुट्टै अस्पताल र अन्य अस्पतालसँग छिटो सहकार्य र समन्वय गर्न बलियो सञ्जाल बनाउन आवश्यक रहेको बताउनु भयो ।

आन्दोलनमा गोली र लाठी प्रहारबाट घाइते भएका ४ सय २० बिरामीमध्ये ५१ जनाको सर्जरी गरिएको, ४४ जना रेफर भएको र ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । आन्दोलनको केन्द्र बानेश्वर र माइतिघरबाट अन्यत्र सार्न, सडक र एम्बुलेन्सको पहुँच सुनिश्चित गर्न र संसद् भवन पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिनुभयो । प्रश्तुत छ निजामति अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीसँग भदौ २३ र २४ गते अस्पताल भित्रको अवस्था र अनुभवसहित कुराकानीको सम्पादित अंश ।

प्रश्न: भदौ २३ र २४ गते तपाईं के गर्दै हुनुहुन्थ्यो ?

२३ गते जेन—जी पुस्ताको आन्दोलन हुँदैछ भनेर पूर्वसूचना थियो । त्यसभन्दा पहिले पनि ६ महिनाको बीचमा अस्पतालले दुई वटा आन्दोलन पनि नजिकैबाट ह्याण्डल गरेको हो । बानेश्वर क्षेत्र नै सबै प्रदर्शनकारीको फोकस गरेको क्षेत्र पनि भयो । हामी मुभमेन्ट भइहरेको कारण जे पनि हुनसक्छ भन्ने अनुमानको आधारमा स्वास्थ्य सेवालाई तयारी अवस्थामा राखेका थियौं ।

हामीले डिजास्टर म्यानेजमेण्ट प्रोटोकलको कुरा पनि हामीले गरेका थियौं । २३ गते बिहानै म सिंहदरबारमा एउटा बैठकमा गएको थिए । साँझ त्यस्तो हुन्छ होला भन्ने कसैले पनि आँकलन गरेको थिएन । स्वास्थ्य सचिवज्यु र अन्य अस्पतालका निर्देशक पनि हुनुहुन्थ्यो । चोकतिर मान्छेहरु जम्मा हुने क्रम बढिसकेको थियो । हामीले संसदीय समितिको बैठक पनि छिटो गरी टुंग्यायौं । तर बैठक टुंग्याएर आउँदासम्म धेरै ठूलो क्षति चाहीँ भइसकेको थियो । आन्दोलनको क्रममा हामीले कल्पना गरेभन्दा पनि धेरै क्षति भयो ।

प्रश्न: जेन–जी आन्दोलनका धेरै घाईतेहरु एकै समयमा अस्पताल आउँदा के कस्ता चुनौतीहरुको सामना गर्नुपर्‍यो ?

तीनकुने आन्दोलनका क्रममा गोली चलेका केसहरु पनि आए । हामीले ह्याण्डल गर्‍यौं । शिक्षक आन्दोलनको क्रममा पनि धेरै जना अस्पताल आउनु भयो । तर त्यस्तो गम्भीर प्रकृतिका घटनाहरु थिएनन् । तर जेन—जी आन्दोलनको क्रममा गम्भीर प्रकृतिका विरामीहरु धेरै आए । पहिलो दिन पनि दुई सय भन्दा बढी बिरामीहरु र दोस्रो दिन पनि दुई भन्दा बिरामीहरु आपतकालीन कक्षमा आउँदा अस्पतालको अन्य सेवामा त असर पर्ने नै भयो ।

यति धेरै बिरामी आउँदा अस्पतालको प्रोटोकलअनुसार काम गर्न चुनौती हुने नै भयो तर स्वास्थ्यकर्मीहरुलाई मोटिभेट गरेर काममा लगाइराख्नुपर्ने चुनौती पनि थपियो । बिरामी पनि आन्दोलन भएर घाइते भएकाहरु आउने पाटोमा मात्र सिमित भएको थिएन । यसका कोल्याटर एक्सेसहरु पनि समस्या भयो । एक्सेस नै थिएन ।

भनेको बेलामा एम्बुलेन्स आउने अवस्था थिएन । अस्पतालपभित्रै युद्धभूमिजस्तो भएको हुनाले स्वास्थ्यकर्मी पनि बाहिरबाट आउने अवस्था नै थिएन । सेवा एकातिर हुँदाहुँदै पनि अन्य धेरै चुनौतीहरु सँगसँगै थपिए ।

प्रश्न: कस्ता प्रकृतिका बिरामीहरु धेरै आए ?

गोली लागेर घाइते भएकाहरु धेरै जना हुनुहुन्थ्यो । अनि लाठी चार्ज भएर अन्य समस्या भएका बिरामीहरु त २४ भदौमा धेरै जना आउनुभएको थियो । त्यसमा पनि केही सुरक्षाकर्मी घाइते हुनुहुन्थ्यो । नत्र भने अस्पताल आउने प्राय: सबै बुलेट इन्जुरी भएका मात्रै थिए । दुई दिन गरेर जम्मा चार सय २० जना सेवा लिन आउनुभयो । जसमध्ये धेरै जना सामान्य उपचारपछि इमरजेन्सीबाट फर्किनुभयो भने ४४ जना अन्तर रेफर हुनुभयो ।

हामीले ५१ जनाको चाहीँ सर्जरी गर्यौं । हामीले सर्जरी गरेका सबै गोली नै झिक्नुपर्ने बिरामीहरु नै छन् । जसमा ६ जनाको मृत्यु नै भयो । अनि राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएकाहरु पनि प्रायजसो यहीबाट रेफर भएकाहरु हुनुहुन्थ्यो । अहिले पनि आन्दोलनका दुई जना घाइतेहरु उपचाररत हुनुहुन्छ ।

प्रश्न: तपाईहरुले बिरामीको उपचार गरिरहँदा अस्पतालभित्रै टियर ग्याँसहरु चल्यो, त्यसको सामना कसरी गर्नुभयो, उपचार सेवामा कस्तो असर पर्‍यो ?

आन्दोलनको दिन हाम्रो सुरक्षा कर्मचारीहरुको संयमता र सुझबुझपनाको कारणले धेरै ठूलो क्षति हुनबाट जोगियो भन्छु । सबैतिरबाट प्रहरीको घेरामा परिसकेपछि आन्दोलनकारीहरु जाने ठाउँ कहीँ नभएको कारण हामीले अगाडीको गेट खोलिदिएर पछाडिको गेटबाट बाहिर जाने व्यवस्था मिलाइदियौं । त्यस्तो नगरेको भएपनि अस्पतालको गेट अगाडि धेरै ठुलो मानवीय क्षति हुन्थ्यो । त्योसँगै आन्दोलनकारीले सुरक्षाकर्मीको सेल्टर सम्झेर अस्पतालभित्र छिरेर प्रशासनिक भवनहरुमा आगो लगाउने प्रयासहरु गर्नुभयो ।

केही ठाउँहरु भत्केका पनि छन् । तर आगो लागेन । र सुरक्षाकर्मीले पनि अस्पतालभित्रै आन्दोलनकारीको सेल्टर छ भने भित्रै ढुंगामुडा, टियरग्याँस र गोलीका छर्राहरु हान्ने काम गर्यो । हाम्रो अस्पतालको आपतकालीन कक्षको ढोकासम्मै गोलीका छर्राहरु आएका थिए । प्रहरीको त्यस्तो कदमले अस्पतालकै कयौं चिकित्सक र स्वास्थ्यकर्मी नै घाइते भए । त्यसले गर्दा हामीले चिकित्सकहरुको मनोबल उच्च राखेर उपचार कार्यमा खटाउनको लागि पनि एकदमै गाह्रो भयो ।

पहिलो दिन त अस्पतालको प्राङ्गण नै युद्धभूमिजस्तो भएको थियो । दोस्रो दिन चाहीँ जुन आगलागी भयो । त्यो समयमा अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरुलाई नै एयरमार्फत उद्धार गर्नुपर्छ कि भन्ने चुनौती पनि आइसकेको थियो । संसद भवन, कान्तिपुर टेलिभिजनको असिफस जल्दा नर्भिक असपतालको सेवा नै यता सार्नुपर्छ कि भन्ने तयारीमा पनि हामी जुटिसकेका थियौं ।

केही परिहाल्यो भने रेस्क्यू गर्नको लागि अस्पतालको पार्किङस्थललाई नै हामीले हेलीप्याडमा रुपान्तरण गर्‍यौं तर उद्धार सेवा नै नमिल्ने अवस्था पनि आयो । त्यस्तो केही ब्लास्ट भएर अस्पताललाई त्यस्तो क्षति त भएन । अस्पताल र विद्यालय क्षेत्र झडप र युद्धमा पनि शान्ती क्षेत्र भनेर कहलिन्छन् । तर जेनजी आन्दोलनको क्रममा त्यो सामान्य मर्यादाको पनि पालना नभएको महसुश भयो । सरकार र आन्दोलनरत पक्ष दुवैले अस्पतालको मर्म बुझेनन् ।

प्रश्न: हामीले विभिन्न विपद् र हेल्थ क्राइसिसको समस्या समाधान गर्‍यो, यसको लागि एउटा छुट्टै अस्पतालको आवश्यकता छ कि छैन ?

विपद्को अस्पताल चाहिन्छ । तर हाम्रो चाँडै बिर्सिने बानी छ । संकट पर्दा सम्झने नत्र बिर्सिहाल्ने बानी छ । तर सडक नै कब्जा भए । एम्बुलेन्सन पनि जलाइए, तोडफोड गरिए । अस्पताल हुँदा पनि त केही समस्या आउँदा सडकको एक्सेस दिनुपर्‍यो । रोड कब्जा हुँदा एयर कनेक्टिभिटी चाहियो । विपद् अस्पतालसँगै आवश्यक अन्य कुराको पनि हामीले अभ्यास गर्नुपर्यो ।

मैले अर्थमन्त्रीज्यु अस्पतालको भिजिट आउँदाखेरी अस्पतालको नयाँ बन्ने संरचनाको माथि एउटा हेलीप्याड बनाउनुपर्ने आवश्यकता र वरिपरिको क्षेत्र पनि सानो भएको कारण बढाउनुपर्ने माग राखेको थिए । किनभने विपद् हुँदा त घाइतेहरुलाई छिटो अस्पताल पुर्याउनुपर्‍यो । र यस अस्पतालको पनि एउटा अर्को अस्पतालसँग प्रत्यक्ष सम्पर्क हुनुपर्‍यो । किनभने एकैचोटी धेरै बिरामी आउँदा त उपचार गर्न गाह्रो हुन्छ । यस्तो गर्न सकियो भने धेरै जीवन बचाउन सकिन्छ ।

यो हामीले रियलाइज गरेर अगाडि पनि बढाएका छौं । एकैचोटि गम्भीर प्रकृतिका धेरै बिरामी आउँदा उपचारमा समस्या गर्दा उहाँहरु आक्रोशित हुने र अन्य दुर्घटना पनि हुने सम्भावना रहन्छ । त्यसकारण यसतर्फ सरकारको ध्यान जान जरुरी छ । छाती, टाउको र निधारमै गोली लागेका कारण धेरैलाई बचाउन सकिएन यो दु:खद् नै भयो । त्यही बिरामी छिटो रेफर गरेर अर्को अस्पतालमा पुर्‍याउन सकिएको भए बाँच्नुहुन्थ्यो कि भन्ने मनमा रहिरह्यो ।

प्रश्न: यो ६ महिनामा भएको तीन आन्दोलन (शिक्षक आन्दोलन, राजावादीको आन्दोलन र जेन—जी आन्दोलन) पछि स्वास्थ्य सतर्कता र स्वास्थ्य उपचारका लागि के गर्नुपर्ने आवश्यकता महशुस गर्नुभयो ?

जवाफ: आन्दोलनको केन्द्र रहने माईतीघर र बानेश्वर क्षेत्रमा नभई आन्दोलनका केन्द्र अन्यत्रै बनाउन पाए हुन्थ्यो । आन्दोलनलाई यो क्षेत्रबाट अन्यत्र नै सिफ्ट गर्नुपर्छ जस्तो लाग्यो । संघीय संसद भवनलाई रिलोकेट गर्न पाए हुन्थ्यो । हाम्रो अस्पतालकै वरिपरि पनि बाटोले घेरिएको छ । यस्ता महत्वपूर्ण संरचनाहरुबीच दूरी कायम गर्नुपर्ने आवश्यकता छ ।

अर्को कुरा सेवाको हिसाबले सडकको मर्यादा हामी सबैले राखिदिनुपर्छ । त्यो हाम्रो सोचाई र सभ्यताको पनि मानक हो । एम्बुलेन्सलाई जस्तो अवस्थामा पनि काम गर्न दिनुपर्छ । अस्पतालसँगको सम्पर्क कुनैपनि हालतमा रोकिनुहुदैन । र कनेक्टिभिटी आवश्यक पर्छ । —न्युज एजेन्सी नेपाल