काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा. तोशिमा कार्कीले पार्टीभित्रको सुधार (रिफर्मेसन) प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेतृत्वलाई थप लोकतान्त्रिक बन्न आग्रह गरेकी छन् ।
फेसबुकमा लेख्दै उनले पार्टीभित्र रिफर्मेसनको एजेन्डा उठेको भए पनि त्यसको व्यवहारिक रूप नेतृत्वले नदिएको टिप्पणी गरेकी छन् । दुई हप्ताभित्र हुने भनिएको विस्तारित बैठक नहुन दिई सचिवालय नै विस्तार गरिनु सुधारको दिशामा नपर्ने निर्णय भएको उनको टिप्पणी छ ।
“हामीले खोजेको रिफर्मेसन यो होइन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो,” उनले लेखेकी छन् ।
डा. कार्कीले पार्टीभित्र कार्यशैली सुधार र संगठनका सबै तहमा अपनत्व बढाउने आवश्यकता औंल्याउँदै विस्तारित बैठकमा बृहत सहभागिता र मताधिकार सुनिश्चित गर्न माग गरेकी छन् ।
उनले लेखेकी छन्, “मताधिकार नदिने भए देशभरिबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।”
पछिल्ला दिनमा रास्वपाभित्र पार्टी नेतृत्व, कार्यशैली र संगठनात्मक संरचना पुनर्गठनबारे आन्तरिक छलफल र असन्तुष्टि सार्वजनिक हुँदै आएका छन् । आगामी महाधिवेशनको मिति र तयारीबारे निर्णय गर्न २ हप्ताभित्र विस्तारित बैठक बोलाइएको थियो ।










