काठमाडौँ । यस वर्ष तिहारको मुखमा पनि टोपी व्यापार नभएको व्यापारीहरुले गुनासो गरेका छन् ।
जेन—जी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटले समाजनै अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा टोपीको व्यापार पनि खासै नभएको काठमाडौंका व्यापारीहरुले बताएका हुन् । पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी ज्योति मानन्धरले बताउनु भयो । उहाँले उहाँले राजनीतिले गर्दा आफूहरुको तिहारजस्तो चाडमा पनि व्यापार हुने अवस्था नरहेको दुःखेसो पोख्नुभयो । तिहारमा दाजुभाईलाई उपहारको रुपमा दिने टोपीको अधिक व्यापार हुने गर्दछ । तर यस वर्ष त्यसको समेत व्यापार नभएकोमा व्यापारीहरु निराश छन् ।
व्यापारी मानन्धरले भन्नुभयो, ‘यसपाली त्यति व्यापार छैन । पहिलाको जस्तो व्यापार छैन । राजनीतिले होला व्यापार नभएको । टोपी दाजुभाईलाई तिहारमा उपहार दिने चलन भएपनि व्यापार हुन सकेन ।’
आईतवार तिहारको पहिलो दिन हो । अझै २—३ दिन व्यापार हुनेमा भने उनीहरुका आशावादी छन् । नेपालमा तिहारलाई दोस्रो ठूलो चाडको रुपमा मनाउने गरिन्छ । सो पर्वमा दिदीबहिनीहरुले दाजुभाईको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै टोपीलगायतका उपचार दिने गर्दछन् भने दाजुभाईले दिदीबहिनीलाई दक्षिणा दिने गर्दछन् ।










