६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क शिविरमा ३६१ जनाको आँखाको शल्यक्रिया



फाइल फोटो
अ+ अ-

सर्लाही। सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

आज सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिनुभयो ।

यही असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए ।

शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो । मोतियाबिन्दुले दुवै आँखा धमिलो भएपछि आफूलाई समस्या भएको भन्दै गाउँमै निःशुल्क सुविधा सम्पन्न सेवा पाउँदा खुसी लागेको ७५ वर्षीया विवीकुमारी मोक्तानले बताउनुभयो ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताउनुभयो ।

यसैबीच शिविर समापनको अवसर पारेर तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटनसमेत गरिएको छ । यस क्षेत्रका नागरिकलाई सुविधा पुर्याउने उद्देश्यसहित क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा स्थापना भएको केन्द्रको विधिवत उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवन कर्मैयाबाट सेवा प्रवाह हुने गरी केन्द्रको उद्घाटन गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रमा कम्प्युटर विधिबाट आँखा जाँच गर्नेदेखि चश्मा बनाएर वितरण गर्ने तथा मोतियाबिन्दुको शल्यक्रिया गर्नेसम्मको सुविधा प्रदान हुने सहयोगी संस्थाकी नेपाल निर्देशक पुनम भण्डारीले बताउनुभयो । शिविर समापन तथा केन्द्र उद्घाटन समारोहमा बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामा, कार्यवाहक उपप्रमुख रुपा बम्जनलगायत स्थानीयको उपस्थिति थियो ।रासस