काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता गणेश साहले पार्टी परित्याग गर्दै राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन् ।
न्यूजपोलारसँग कुरा गर्दै उनले आफू ७५ वर्ष उमेर पुगेको र नयाँ पुस्ता, विशेषगरी जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ध्यानमा राख्दै सक्रिय राजनीतिबाट अवकाश लिएको बताएका हुन् ।
साहले भने, “अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।”
पूर्वमन्त्रीसमेत रहेका साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा रहेका थिए । उनी एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा आएका थिए ।
उनले अब कुनै पनि राजनीतिक दलमा नलाग्ने स्पष्ट पार्दै भने, “माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्नँ ।”










