२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानबालीमा फड्के कीराको सङ्क्रमण



अ+ अ-

पर्वत । जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।

धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ ।

फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ । अत्यधिक आक्रमण भएका क्षेत्रमा धानका बोट नै सुक्ने अवस्थासमेत देखिएको छ । त्यसलाई ‘होपर बर्न’ समस्या रहेको बुझिने केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख पर्शुराम अधिकारीले पैँयु गाउँपालिकाअन्तर्गतका केही वडामा फड्के कीराको सङ्क्रमण फैलिरहेको बताउनुभयो । उहाँले सङ्क्रमण नियन्त्रणका लागि अनुगमन र प्राविधिकको रिपोर्टका आधारमा विषादी सिफारिस गरिएको बताउनुभयो ।

उहाँका अनुसार, उच्च आद्रता, खेतमा स्थायी पानी जम्ने अवस्था, असमान रोपाइँ समय, अत्यधिक नाइट्रोजनयुक्त मलको प्रयोग र कीटनाशक विषादीको अनियन्त्रित प्रयोग कीराको वृद्धि हुने प्रमुख कारण रहेका छन् । यस्ता कीराले धानमा लाग्ने भाइरसजन्य रोग सार्ने माध्यमको काम पनि गर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अधिकारीले बताउनुभयो ।

सङ्क्रमण न्यूनीकरणका लागि रोपाइँ एउटै समयमा सम्पन्न गर्ने, खेतमा हावापानीको उचित व्यवस्था मिलाउने, युरिया मलको सन्तुलित प्रयोग गर्नुपर्ने, अनावश्यक रूपमा विषादी प्रयोग नगर्ने, मित्र कीटको संरक्षण गर्ने र गुणस्तरयुक्त विषादीको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । अधिकारीका अनुसार, कृषकलाई आवश्यक जानकारी दिन प्राविधिक परिचालन गरिएको छ । साथै, सङ्क्रमण रोकथामका लागि खेतको नियमित अवलोकन र कीट व्यवस्थापनमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्ख्या बढी देखिएका क्षेत्रमा विषादी प्रयोग गर्दा धानको बोटको फेदमा पुग्नेगरी छर्कन आग्रह गरेको छ ।

पर्वतका अन्य क्षेत्रमा पनि यस्तै समस्या देखिनसक्ने भएकाले सावधानी अपनाउन कृषक र स्थानीय तहलाई जानकारी गराइएको छ । रोग निदानका लागि कृषकलाई तीन पटकसम्म खेतमा पानी एक हप्ता राखी त्यसपछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुक्खा राख्नेगरी सिँचाइको व्यवस्था गर्न सुझाव दिइएको छ ।