९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमण दोस्रो चरणमा- तर खतरा टरेको छैन



अ+ अ-


काठमाडौँ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको शुक्रबार एक साता हुन्छ । विदेशबाट आएका व्यक्तिबाट स्थानीयलाई संक्रमण भएपछि यो चरण सुरु भएको हो । यो अवधिमा थप संक्रमित देखिएका छैनन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबारबाट सञ्चालनमा ल्याइएको अटोमेटिक सेनिटाइजर गेट । स्वास्थ्यकर्मी र सेवाग्राहीलाई कोभिड–१९ संक्रमण नहोस् भनेर अस्पतालले गेटबाट पस्नेबित्तिकै सेनिटाइजर छर्किने प्रविधिसहितको व्यवस्था गरेको हो ।

थप संक्रमित नभेटिए पनि ढुक्क हुने स्थिति नभएको विज्ञहरूको विश्लेषण छ । सुदूरपश्चिमका जिल्ला र बागलुङबाट संकलन गरिएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्रै संक्रमणको वास्तविक अवस्था थाहा हुने उनीहरूको भनाइ छ । नयाँ संक्रमण नदेखिए पनि संक्रमणको संवेदनशीलतालाई ध्यान दिएर थप लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी, साबुन पानीले हात धुनेलगायत सुरक्षाका उपायलाई कायम राख्नुपर्ने सुझाव विशेषज्ञहरूले दिएका छन् ।

चीनको वुहानबाट फर्किएका एक ३२ वर्षीय नेपाली विद्यार्थीमा पहिलोपटक संक्रमण पुष्टि भएको ७३ दिनपछि गत शनिबार कोभिड–१९ को विस्तार दोस्रो चरणमा प्रवेश गरेको थियो । कोरोना प्रभावित राष्ट्रहरूबाट आएकामा संक्रमण देखिने अवस्थालाई संक्रमणको पहिलो चरण भनिन्छ । उनीहरूबाट नजिकको सम्पर्कमा आएका व्यक्ति, आफन्तमा देखिन थाल्नु दोस्रो चरण हो । विदेश भ्रमणमा नगएकी कैलालीकी ३४ वर्षीया महिलामा दुबईबाट फर्किएका आफन्तबाट संक्रमण सरेपछि दोस्रो चरणमा कोभिड–१९ प्रवेश गरको थियो ।

कोरोना संक्रमण दोस्रो चरणमा गयो तर त्यहाँबाट हालसम्म अगाडि बढेको देखिएको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘हालसम्म मुलुकको विभिन्न भागबाट हामीले दिनहुँ पाएको जानकारीअनुसार कोरोना संक्रमणले झन् बढी खतराको संकेत गरेको छैन ।’

धनगढीलगायत सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा र गण्डकीको बागलुङबाट संकलन भएका करिब दुई हजार नमुना परीक्षणको नतिजा आएपछि मात्र दोस्रो चरणको संक्रमणको वास्तविक स्थिति थाहा हुने उनले बताए । ती नमुना सेनाको हेलिकप्टरबाट राजधानी ल्याउने काम भइरहेको छ ।, कान्तिपुर दैनिकमा खबर छ ।