१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालोको खोजिमा दृष्टिविहीन राना दम्पती



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् ।

विसं २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाधिनुभएको हो । दृष्टिविहीन भएकाले दुवैको सहारा उहाँका छिमेकी रहेका छन् । अहिले पनि रामा सुदामा दम्पती छिमेकीकै सहयोगमा सानो घरमा बसोबास गर्दै आएका छन् । त्यो घर पनि गाउँका बासिन्दाले बनाइदिएका हुन् । “आमाबुबाले जग्गा राख्नुभएन, अहिले बस्नको लागि छ–सात धुर जग्गा मात्रै छ त्यसमै असल छिमेकीले घर बनाई दिँदा बस्न पाएका छौँ”, रामाले भन्नुभयो ।

दुवै जनाले अपाङ्गका आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित रूपमा भत्ता पाउँछन ्। यही भत्ताको रकम नै दृष्टिविहीन दम्पतीको मुख्य आम्दानीको स्रोत हो । “त्यही पैसाले नुन, तेल, चामल, दाल, साबुन र औषधोपचारका लागि खर्च गर्छौं”, सुदामा बताउनुहुन्छ ।

छिमेकीहरूले दुवै जनाका लागि खाना पकाउनेदेखि घर सफा गर्नेलगायत दैनिक कार्यमा सहयोग गर्छन् । सुदामा अनुमान र अन्दाजका भरमा कपडा धुन्छिन् र स–साना घरायसी काम आफैँ गर्न प्रयास गर्छिन् । “सहारा कोही छैन, जो आउँछन् ती नै हेर्छन्”, रानाले भन्नुभयो । दुवै जनाको सन्तान भने छैनन् ।

रामाले झारफुकको काम पनि गर्छन् । उहाँका अनुसार बाल्यकालदेखि नै यो सीप सिक्नुभएको हो । “झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ, कहिलेकाहीँ घरमै बोलाएर पनि आउनुहुन्छ”, उहाँले भन्नुभयो । यही सानो आम्दानीले पनि घरखर्चमा केही राहत पुग्ने गरेको उहाँ बताउनु हुन्छ ।

“आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन”, सुदामा मुस्कुराउँदै भन्नुहुन्छ । रामा र सुदामाको जीवन जिउने सकारात्मक सोचले जीवनलाई दृढ बनाएको स्थानीय नवराज पन्तले बताउनुभयो । “दृष्टिविहीन राना दम्पती अत्यन्तै सरल र सकारात्मक सोच भएका व्यक्ति हुन”, उहाँले भन्नुभयो, “कठिनाइका बीच पनि दुवै जना कहिल्यै गुनासो गर्दैनन्, बरु उनीहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ ।”

गाउँका बासिन्दा राना दम्पतीलाई साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी रुपमा बर्णन गर्छन । जीवनमा दृष्टि नभए पनि उनीहरूले एकअर्कामा उज्यालो पाएका छन् । अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् रामा र सुदामा राना । रासस